काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई ‘मल्टि डाइमेन्सनल’ बनाउन इन्ट्रा डे कारोबारसहित सर्ट सेल र धितोपत्र लेनदेनलाई कार्यान्वयनमा ल्याउने भएको छ।
अहिले नेपालको सेयर बजार ‘सिंगल डाइमेन्सनल’ हो। यसमा बजारको वृद्धिमा मात्र लगानीकर्ता या कारोबारीले लाभ लिन सक्छन्।
परम्परागत ट्रेडिङ शैलीलाई आधुनिकिकरण गर्दै बोर्डले इन्ट्रा डे कारोबारको योजना अघि सारेको हो। इन्ट्रा डे कारोबार सुरु गराउन चाहिने सर्ट सेलिङ र धितोपत्र लेनदेनको व्यवस्था कार्यान्वयन गर्ने बोर्डको तयारी छ।
‘बोर्डले यसबारे अध्ययन र आवश्यक नीतिगत व्यवस्थाको खाका एकैपटक तयार पार्ने योजनामा छ। साथै यसलाई चाहिने मार्जिन लेण्डिङको व्यवस्थालाई पनि नीतिगत तहबाटै सुधार गर्ने बोर्डको तयारी हो,’ बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले भने, ‘नियमन, सुपरिवेक्षण र अनुसन्धान विभागको संयुत प्रयासमा नियमावली ड्राफ्ट गरिनेछ।’
आवश्यकता अनुसार विज्ञ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग पनि सहकार्य गर्ने बोर्डको तयारी छ। श्रेष्ठका अनुसार मस्यौदा तयार भएपछि नेपाल बैंकर संघ, मर्चेन्ट बैंकर, ब्रोकर लगायत सरोकारवालाहरुसँग राय सुझाव संकलन गरिनेछ।
विकसित तथा परिपक्व बजारमा इन्ट्रा डे कारोबारको अभ्यास छ। छिमेकी मुलुक भारतमा पनि इन्ट्रा डे कारोबार संचालनमा छ। यसले नेपालको दोस्रो बजारलाई भाइब्रेन्ट बनाउने बोर्डको बुझाइ छ। इन्ट्रा डे कारोबारले विदेशी लगानीकर्ता भित्र्याउन पनि सहयोग पुग्ने बुझाइ छ।
सुरुवाती चरणमा इन्ट्रा डे कारोबार सीमित कम्पनीमा परीक्षणका रुपमा गराउने तयारि छ। यस्तो कारोबारमा अत्यधिक तरलता आवश्यक हुने हुँदा सबैखाले कम्पनी उपयुक्त नहुने बोर्डको बुझाइ छ। कारोबार राफसाफको अवधि पनि कटौती गर्ने बोर्डको तयारी छ। मूल्य परिवर्तन र सर्किट ब्रेकरको सीमामा पनि परिवर्तन हुन सक्नेछ।
बोर्ड तीन वर्षअघि नेप्से, मर्चेन्ट बैंकर, ब्रोकर र सीडीएसको सहकार्यमा तयार अध्ययन प्रतिवेदनलाई पनि पुनर्मूल्याङकन गर्ने क्रममा छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको संयोजकत्त्वमा २०७७ मा इन्ट्रा डे कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरिएको थियो। जसमा नेपाली सेयर बजारमा इन्ट्रा डे सम्भव रहेको निष्कर्ष छ।
त्यका लागि मुख्यतः प्रचलित नियम कानुनमा गर्नुपर्ने परिमार्जन र प्रविधिमा गर्नु पर्ने हेरफेरबारे प्रतिवेदनमा औंल्याइएको छ। नीतिगत पूर्वाधारको अभावमा हाल इन्ट्रा डे कारोबार हुन पाएको छैन। धितोपत्र ऐन २०६३ ले आधुनिक औजार पहिचान नगर्ने र यसअन्तर्गत बनेका नियम विनियममा इन्ट्रा डे कारोबारका लागि कुनै पनि व्यवस्था नभएकोले परिमार्जन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
ऐन नियममा परिवर्तन गरेर नेप्से, सीडीएससी, ब्रोकर र मर्चेन्ट बैंकको छोटो तयारीमा नै अन्तर्दिवसीय कारोबार, सर्ट सेलिङ तथा धितोपत्र सापटी लेनदेनमा सहभागी हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
नेप्सेले सर्ट सेल र इन्ट्रा डे कारोबारका लागि नयाँ प्रणाली नै खरिद गर्ने भएको छ। सीडीएसले पनि प्रणाली स्तरोन्नति गरिरहेको छ। बजारमा नयाँ ब्रोकरको आगमनसँगै सीडीएसले हेटौंडाको सर्भरलाई पूर्ण क्षमतामा स्तरोन्नति गरिसकेको छ।
बोर्ड इन्ट्रा डे र सर्ट सेलिङ कारोबारलाई आवश्यक तरलता पूर्ति गर्न ब्रोकरहरुलाई मार्जिन लेण्डिङको स्पष्ट नीतिगत पूर्वाधार तयार गरिदिने योजनामा छ। ‘हालसम्म ब्रोकरहरुले मार्जिन लेण्डिङ स्पष्ट नीतिबिनै गरिरहेका थिए। बोर्ड अब त्यसको समाधान निकाल्ने तयारीमा छ। मुख्य समस्या भनिएको लेण्डिङका लागि स्रोत पनि उपलब्ध हुने वातावरण बोर्डले मिलाउने छ,’ श्रेष्ठले भने।
कारोबारीले मार्जिन सुविधाको उपयोग गर्दै स्वपुँजीभन्दा धेरै गुणाको कारोबारमा संलग्न हुन पाउने अवसर इन्ट्रा डे कारोबारमा पाउने नेप्सेको प्रतिवेदनमा उल्लेख छ। इन्ट्रा डे कारोबारमा जोखिम एक दिनबाट अर्को दिन सर्ने हुँदैन। एकै दिनमा राफसाफ गरिने हुँदा इन्ट्रा डे कारोबारमा उच्च तरलता आवश्यक हुन्छ। मार्जिन उपलब्ध गराएबापतको सेवा शुल्क बोर्ड स्वयमंले निर्धारण गर्नेछ।
तरलताका साथै सेयरको माग र आपूर्तिलाई व्यवस्थापन गर्न बोर्डले धितोपत्र सापटी लेनदेन पनि कार्यान्वयनमा ल्याउने भएको छ। अन्तर्राष्ट्रिय अभ्यास अनुसार सापटी लिने दिने कार्यको मध्यस्तकर्ता प्राय: स्टक एक्सचेन्ज स्वयं र नभए ब्रोकर संस्थाले गर्ने गरेका छन्। त्यसका लागि उनीहरुलाई नियामकले अनुमति दिएको हुन्छ। सो कार्य अनलाइन प्रणालीमार्फत नै हुने गरेको छ। यो प्रक्रियामा धितोपत्र सापटी दिनेले निश्चित शुल्क पाउँछन्।
धितोपत्र सापटी लेनदेन कार्यमा माग गर्ने ग्राहकका दुई वटा उद्देश्य हुन्छन्। पहिलो धितोपत्र सापटी लिएर बिक्री गर्ने, दोस्रो कारोबार गरिसकेपछि धितोपत्र उपलब्ध गराउन नसक्दा सापटी लिएर पूर्ति गर्ने हो। सर्ट सेलिङलाई आवश्यक सेयर पनि धितोपत्र सापटी तथा लेनदेनबाट आपूर्ति गर्ने हो। सर्ट सेलिङमा कारोबारीले आफूसँग नभएको सेयर बिक्री गर्छ। जुन धितोपत्र सापटी तथा लेनदेनकर्तासँग सापटी लिएको हुन्छ।
इन्ट्रा डे कारोबार सुरु गरेपछि ब्रोकर कमिसन समायोजन गर्ने बोर्डको योजना छ। यस विषयमा बोर्डले ब्रोकरहरुसँग छलफल गरिसकेको छ। नेप्सेले प्रस्ताव गरेको सदस्यता तथा सुपरिवेक्षण विनियमावलीबारे राय लिने क्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले कमिसन कटौती गर्ने बताएका थिए। उनले बोर्ड र नेप्सेको नियामकीय शुल्क घटाउने पनि बताइसकेका छन्।