BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने, असोज ४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

२०८० भदौ २९

प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने, असोज ४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
maoist central committe meeting- Prime minister- Prachanda- Prabin Ranabhat


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

Tata
GBIME
NLIC

उनले असोज ४ (सेप्टेम्बर २१) मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै सेप्टेम्बर १९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन्।

अमेरिका भ्रमणपछि प्रचण्ड त्यतैबाट चीन जाने बताइएको छ।