काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ।
इप्पानका पदाधिकारीले बुधबार काठमाडौंमा डच बैंक एफएमओका प्रतिनिधिसँगको छलफलमा नेपालको ऊर्जा क्षेत्रमा अर्बौं डलर लगानी आवश्यक रहेको भन्दै सस्तो ब्याजदरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेका हुन्।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको प्रचुर अवसर रहेको तर नेपालीको लगानीले नपुग्ने बताए। ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको छ। नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्,’ कार्कीले भने, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ।’
इप्पानका उपाध्यक्ष आशीष गर्गले जलविद्युत उत्पादन र उपभोगको तथ्यांक प्रस्तुत गर्दै विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक रहेको बताए।
पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब तथा अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक रहेको उनको भनाइ छ।
सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए।
इप्पानका अर्का उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालका बैंकमार्फत् वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालीन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे।
एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले प्रवर्द्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरे ऊर्जा क्षेत्रमा ठूलो लगानी भित्र्याउन एमएफओ तयार रहेको जवाफ दिए।
एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँभन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ। त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्डसहितका संस्थाबाट भएको ८ अर्ब रुपैयाँ ऋणको नेतृत्व पनि एफएमओले नै गरेको छ। उसले २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ।
छलफलमा इप्पानका तर्फबाट अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरु गर्ग, आनन्द चौधरी र लामा, महासचिव बलराम खतिवडा, सल्लाहकार मनोज गोयल र मोतीलाल दुगड लगायत सहभागी थिए।
एफएमओका तर्फबाट सीईओ माइकलका साथै म्यानेजर जेसुन हान, वरिष्ठ लगानी अधिकृत आर्नो डे भेट्टे र एसिया क्षेत्रको ऊर्जा हेर्ने म्याथ्यू रिबेइरो-नोर्ले छलफलमा सहभागी थिए।