काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभी सार्वजनिक गरेको छ। कम्पनीले आज सुरु भएको नाडा अटो शोमा टियागी इभी सार्वजनिक गरेको हो।
अर्थमन्त्री प्रकाशशरण महतले गाडी सार्वजनिक गरे। गाडीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याएको हो।
टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ। बीएचपीले गाडीको एक्सिलेरेसन र टप स्पिड निर्धारण गर्छ। बीएचपी भनेको इन्जिनको शक्ति हो।
टर्कले गाडीको टर्निङ फोर्स कति छ भनेर निर्धारण गर्छ। यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडीमा रहेको ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्न सक्छ। यो गाडी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
टियागो भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय कार हो। यसमा स्पोर्ट मोडल पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।