BIZMANDU
www.bizmandu.com

नेता नेम्वाङको अप्रत्यासित निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्वारा दुःख व्यक्त

२०८० भदौ २६

नेता नेम्वाङको अप्रत्यासित निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्वारा दुःख व्यक्त
नेता नेम्वाङको अप्रत्यासित निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्वारा दुःख व्यक्त


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

Tata
GBIME
NLIC

सामाजिक सञ्‍जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्‍जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन्।

महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्‍जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका उपाध्यक्ष नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्‍जाल एक्स (ट्वीटर)मार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेम्वाङप्रति श्रद्धाञ्‍जली प्रकट गरेका छन्।

महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्‍जली अर्पण गरेका हुन्।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ। एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो।