BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र सुस्त भए पनि अमेरिकी उत्पादन क्षेत्रमा ‘बुम’, उद्यमीको आत्मविश्वासले टेवा पुग्ला?

२०८० भदौ २६

अर्थतन्त्र सुस्त भए पनि अमेरिकी उत्पादन क्षेत्रमा ‘बुम’, उद्यमीको आत्मविश्वासले टेवा पुग्ला?
अर्थतन्त्र सुस्त भए पनि अमेरिकी उत्पादन क्षेत्रमा ‘बुम’, उद्यमीको आत्मविश्वासले टेवा पुग्ला?

जुलाई महिनाको एक शनिबार क्याथी लियोनार्ड आफ्नो वीकेन्ड प्लानअनुसार डुंगा सयरमा जानेवाला थिइन्। अचानक उनको टेलिफोन बज्यो। अमेरिकाको उत्तरपूर्वी राज्य मेनको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड कम्युनिटी डेभलपमेन्टका प्रमुखबाट उनलाई अप्रत्यासित प्रस्ताव आयो। उनले क्याथीलाई प्रस्ताव राखे- ‘के तिमी अर्को साता प्रेसिडेन्टलाई होस्ट गर्न सक्छ्यौं?’

Tata
GBIME
NLIC

स्पेसलाइज्ड टेक्सटाइल मेकर औबर्न म्यानुफ्याक्चरिङकी संचालक क्याथीले पहिले सोधिन्, ‘के को प्रेसिडेन्ट?’

प्रमुखले उनलाई स्पष्ट पारे- ‘म अमेरिकाका प्रेसिडेन्ट जो बाइडेनको कुरा गर्दैछु।’

क्याथी छक्कै परिन्। उनलाई यो फेक कल हो कि जस्तो पनि लाग्यो तर जब उनी सरकारी अधिकारीसँगको कुराकानीबाट विश्‍वस्त भइन् तब उनले भनिन्- ‘पक्कै पनि होस्ट गर्नेछु। म कसरी यो अवसरलाई मिस गर्न सक्छु!’

त्यसको ठ्याक्कै सात दिनमा अर्थात २८ जुलाई शुक्रबारको दिन औबर्न म्यानुफ्याक्चरिङ परिसरमा उभिएका थिए अमेरिकी राष्ट्रपति जो बाइडेन, जहाँ उनले आफ्नो आर्थिक एजेन्डाहरुको सफलताको बारेमा लामै भनाइ राखे।

गत जुलाईमा निर्माण क्षेत्रमा उत्पादकहरुको निर्माण खर्च अघिल्लो वर्षको समान अवधिको भन्दा ७१ प्रतिशतले बढेको अमेरिकाको वाणिज्य विभागको तथ्यांकले देखाएको छ।

औबर्नमा अमेरिकी राष्ट्रपतिले गरेको सम्बोधन। तस्वीर: cnn.com

उनले त्यस क्रममा उत्पादकहरुले निर्माण परियोजनाहरुमा गरेको खर्च र उद्योगको बढ्दो लागतका विषयमा समेत चर्चा गरे।

अमेरिकी राष्ट्रपति बाइडेनले देखाएको यो सक्रियता र उत्साहले अमेरिकी उत्पादन क्षेत्रको आत्मविश्वासलाई पनि बढाइदिएको छ। तथ्यांकहरुले पनि बाइडेनले बिगतमा घोषणा गरेका विभिन्‍न सहायता प्याकेजहरुको राम्रै प्रभावकारिता देखिन थालेको पुष्टि गर्छ।

गत जुलाईमा निर्माण क्षेत्रमा उत्पादकहरुको निर्माण खर्च अघिल्लो वर्षको समान अवधिको भन्दा ७१ प्रतिशतले बढेको अमेरिकाको वाणिज्य विभागको तथ्यांकले देखाएको छ। यसैगरी अगस्टमा उत्पादक कम्पनीहरुमा काम गर्नेको संख्या अघिल्लो वर्षको समान अवधिको भन्दा १ लाख ६ हजार बढी छन्।

उपभोक्ताको माग पक्ष घटिरहेको सर्वेक्षणहरुले देखाए तापनि उत्पादन क्षेत्रमा देखिएको यो तथ्यांकलाई अमेरिकी सरकार र स्वयं राष्ट्रपति बाइडेनको बिगतको प्रयासको परिणाम देखिन थालेको संकेतका रुपमा हेरिएको छ।

उत्पादन क्षेत्रका साथै पूर्वाधार र चिप्स तथा साइन्स सम्बन्धी विभिन्‍न कानुनहरुको निर्माण गरे‚ जसबाट उत्पादकहरुका लागि नयाँ सम्भावनाको ढोका पनि खोलिदियो।

औबर्नमा राष्ट्रपति बाइडेनले गरेको भाषणको केही दिनअघि मात्र फेडले २२ वर्ष यताकै सबैभन्दा उच्च दरमा ब्याजदर बढाएको थियो। मुद्रास्फीतिलाई नियन्त्रणमा लिनका लागि आक्रामक ढंगले चलाइएको क्याम्पेनअन्तर्गत नै यति धेरै ब्याजदर वृद्धि भइरहेको हो।

अर्थविद्हरुका अनुसार हाल अमेरिकी केन्द्रीय बैंक फेड आफ्नो ऐतिहासिक मुद्रास्फीति दर नियन्त्रणको युद्धमा अन्तिम चरणहरुमा प्रवेश गरिसकेको छ। तर अझै पनि अमेरिकी अर्थतन्त्रलाई बढ्दो ब्याजदरले कस्तो असर पार्छ भन्‍ने बारेमा स्पष्ट छैन। तर हालैका वर्षहरुमा अमेरिकी सरकारले दिएको सहायता प्याकेजहरु र वित्तीय उदारीकरणका कारण उत्पादन क्षेत्रलाई डगमगाउन नपर्नेगरीको ‘बुस्ट’ दिइरहेको छ।

सन् २०२१ मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिको कुर्सी सम्हाले लगत्तै उनले अर्बौं डलरको राहत प्याकेजहरुमा खर्च गरे। उत्पादन क्षेत्रका साथै पूर्वाधार र चिप्स तथा साइन्स सम्बन्धी विभिन्‍न कानुनहरुको निर्माण गरे‚ जसबाट उत्पादकहरुका लागि नयाँ सम्भावनाको ढोका पनि खोलिदियो। सरकारबाट प्राप्त ठूलो रकमको प्याकेजका कारण उत्पादन बढाउनका लागि नयाँ फ्याक्ट्री निर्माणको योजनामा पनि  बल पुग्यो।

सरकारी सहायता प्याकेज तथा नवीकरणीय ऊर्जातर्फको सिफ्टले नै अमेरिकालाई ‘म्यानुफ्याक्चरिङ बुम’तर्फ लैजान सहज भएको नोबेल पुरस्कारप्राप्त अर्थशास्त्री पल क्रुगम्यान बताउँछन्।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन पनि हालको अवस्थाबाट निकै उत्साहित छिन्। उनले हाल फेडले मुद्रास्फीति नियन्त्रणमा राख्‍न लिएको ब्याजदरमा कडाईका बाबजुद रोजगार क्षेत्रको अवस्था सोचेजति नराम्रो नदेखिएकोमा सन्तोष गर्छिन्।

‘रोजगार क्षेत्रमा मेजर ड्यामेज नभइ नै मुद्रास्फीति बिस्तारै घट्दैछ। रोजगारीका क्षेत्रमा नयाँ अवसरहरु सिर्जना भइरहेका छन्। म आगामी दिनमा अमेरिकाले मन्दीमा प्रवेश गर्दैन भन्‍नेमा आशावादी छु,’ उनले भनिन्।

तथ्यांकहरुले विश्‍वकै सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकी अर्थतन्त्र बिस्तारै लयमा फर्कन थालेको सकारात्मक लक्षणहरु देखाउन थालेको उनको भनाइ छ।

गोल्डम्यान साचका विश्लेषकहरुले अमेरिकी उत्पादन उद्योगमा आगामी दुई वर्षमा थप २ लाख ५० हजार रोजगारी थपिने अनुमान गरेका छन्।

निर्माण क्षेत्रमा भइरहेको उच्च तथा लगानी हाल उत्पादन क्षेत्रमा तीव्र उच्च तहको उत्पादन दिने तथा रोजगारी सिर्जना गर्ने अवस्थामा भने पुगिसकेको छैन। तथापि अमेरिकामा उपभोक्ताहरुमाझ आर्थिक उत्साह बढेको तथा भयको अवस्थाबाट भने उनीहरु बाहिरिन थालेको अर्थशास्त्रीहरु बताउँछन्।

एस एण्ड पी ग्लोबल तथा द इन्स्टिच्युट फर सप्लाइ म्यानेजमेन्टले हालै गरेको सर्वेक्षणले के देखाएको छ भने अमेरिकी उत्पादन क्षेत्र केही समयदेखि संकुचनमा छ।

cnbc.com

यति हुँदा हुँदै पनि अमेरिकी अर्थतन्त्र समस्याबाट बाहिर चाहिँ छैन। एस एण्ड पी ग्लोबल तथा द इन्स्टिच्युट फर सप्लाइ म्यानेजमेन्टले हालै गरेको सर्वेक्षणले के देखाएको छ भने अमेरिकी उत्पादन क्षेत्र केही समयदेखि संकुचनमा छ।

सर्वेक्षणले उपभोक्ताको मागमा कमी आएको तथा ‘ब्याक-लग’ तथा कामदारहरुको अभावका कारण लामो समयदेखि अमेरिकी उत्पादन क्षेत्रलाई प्रभावित बनाइरहेको देखिन्छ। इन्स्टिच्युट फर सप्लाइ म्यानेजमेन्टको पछिल्लो सर्वेक्षणले के देखाएको छ भने गत अगस्टमा उत्पादन क्षेत्रको गतिविधिमा देखिएको संकुचन बिगत १० महिनायताकै निरन्तरता हो।

हाल अमेरिकी उपभोक्ताको मागमा कमी आएको छ। उनीहरुले खाद्यान्‍न वा घरायसी सामाग्रीको मौज्दात राख्‍न कम गरेका छन्। उनीहरुलाई उच्च ब्याजदरले समेत मारमा पारेको छ। थप उपभोक्ताहरु उच्च मुद्रास्फीतिका कारण आफ्नो क्रयशक्तिमा कमी आएको महसुस गरिरहेका छन्‚ यसकारण पनि उनीहरु कम खरिद गरिरहेका छन्।

अल्पकालमा तथ्यांकहरुले मागमा सुस्तता आएको देखाएको भए तापनि उत्पादन क्षेत्रमा हाल धमाधम नयाँ फ्याक्ट्रीहरुको निर्माण भइरहेकाले दीर्घकालमा उनीहरुको आत्मविश्‍वास देखिएको अर्थशास्त्रीहरु बताउँछन्।

forbes.com

‘कोभिड महामारीपछि ग्राहकहरुको खरिदारी असाध्यै बढेको थियो। हाल बढ्दो ब्याजदर र त्यसबेलाको खरिदारीका कारण पनि उपभोक्ताको खरिद गर्ने प्याटर्नमा फरक पर्छ तर हालको अवस्था अल्पकालका लागि मात्र हुन्,’ अलायन्स फर अमेरिकन म्यानुफ्याक्चरिङका अध्यक्ष स्कट पौलले भने।

अमेरिकामा ऐतिहासिक रुपमै उत्पादन क्षेत्रलाई आर्थिक मन्दीले प्रभावित बनाएको छ।

सन् २००७ डिसेम्बरदेखि सन् २००९ जुनसम्म रहेको महामन्दीको समयमा उत्पादन क्षेत्रबाट २० लाख भन्दा बढी कामदार बाहिरिएका थिए। श्रम विभागका अनुसार उक्त संख्या जनशक्तिको १५ प्रतिशत हिस्सा हो।

तर यसपटक त्यस्तो भने हुँदैन। ‘अर्थतन्त्र मन्दीमा प्रवेश गर्छ भने पनि,’ पौल क्रुगम्यान भन्छन्, ‘ठूलो मात्रामा रोजगारी गुम्नबाट यसपटक जोगिन सकिन्छ किनभने सरकारले यसपटक जुन राहत प्याकेज तथा प्रावधानहरु तय गरेको छ‚ यसले अवश्य नै सघाउ पुर्‍याउँछ।’

अल्पकालमा तथ्यांकहरुले मागमा सुस्तता आएको देखाएको भए तापनि उत्पादन क्षेत्रमा हाल धमाधम नयाँ फ्याक्ट्रीहरुको निर्माण भइरहेकाले दीर्घकालमा उनीहरुको आत्मविश्वास देखिएको अर्थशास्त्रीहरु बताउँछन्।

हाल फेडले कर्जा दरको बेन्चमार्क ५.२५ देखि ५.५ प्रतिशत तोकेको छ। सन् १९८० को सुरुवातमा यो ८ देखि १९.५ प्रतिशतसम्म थियो।

फ्याक्ट्री निर्माणका लागि समय लाग्छ। ठूलो लगानी फ्याक्ट्री बनाउन खर्च भइरहेको देखिन्छ। तथापि पौल क्रुगम्यान अझै पनि प्याकेजिङ तथा लत्ताकपडा जस्ता मन्दीका समयमा खासै लाभ नपाए उत्पादकहरु मन्दीको समयमा समस्यामा पर्ने भनाइ राख्छन्। सरकारी सुविधाको लाभ कतिले लिए तथा कति वञ्चित भए भन्‍ने बारे स्पष्ट भइनसकेकाले पनि मन्दीमा प्रवेश गर्दा कति उद्योग प्रभावित हुन्छन् अहिल्यै अनुमान गर्न कठिन हुने उनले बताए।

तर औबर्न म्यानुफ्याक्चरिङकी क्याथी भने आफ्नो कम्पनीको प्रदर्शन र क्षमताप्रति विश्‍वस्त छिन्। मन्दी नै आए पनि कम्पनीको कार्यकुशलता र क्षमताप्रति आफूलाई पूर्ण विश्‍वास भएको उनले बताइन्। आफूहरुले यस्तो धेरै उतारचढाव भोगिसकेको उनको भनाई छ। उनले यसअघि पनि धेरै पटक उच्च ब्याजदर ब्यहोरिसकेको बताउँछिन्।

‘जब हामीले आफ्नो पहिलो भवन बनाउँदै थियौं त्यसबेला ब्याजदर १४ प्रतिशतको हाराहारीमा थियो यो असीको दशकको कुरा हो,’ उनले भनिन्।

हाल फेडले कर्जा दरको बेन्चमार्क ५.२५ देखि ५.५ प्रतिशत तोकेको छ। सन् १९८० को सुरुवातमा यो ८ देखि १९.५ प्रतिशतसम्म थियो।

कन्जुमर प्रोडक्ट निर्माता कम्पनी टेराभाइभकी संस्थापक तथा सीईओ जुलियाना किलिङ पनि आफ्नो व्यापार मन्दीका समयमा खासै राम्रो नहुने भए पनि दीर्घकालमा माग बलियो हुनेमा विश्‍वस्त छिन्। उनी ढुक्कका साथ भन्छिन्, ‘मन्दीको समयमा कम होला तर दीर्घकालमा उपयोगी सामाग्रीहरु मानिसहरुले बिस्तारै खरिद गर्दै जान्छन्।’

कम्पनीहरुले आफ्नो संचालनका लागि कर्पोरेट लोन प्रयोग गर्छन्‚ जसबाट उनीहरुलाई उच्च ब्याजदर तिर्नुपर्ने हुन्छ। यसमा लागत बढ्न गए उत्पादकहरुले आफ्नो ग्रोथ प्लानमै परिवर्तन गर्नुपर्ने हुन्छ। कतिपय उत्पादकहरुको ग्रोथ प्लानलाई यसले प्रभावित बनाइरहेको छ।

सबैले उच्च लागत तिर्नु अघि फेडको नयाँ मुभको बारेमा सोचविचार गरिरहेका हुन्छन्। अझ बढी त त्यो बेला सोच्छन् जतिबेला उनीहरुको ग्रोथ प्लान बनिरहेको हुन्छ।

आगामी दिनमा अमेरिकी अर्थतन्त्र मन्दीमा गए पनि नगए पनि अमेरिकी उत्पादन क्षेत्रको लागि भने यतिबेला ‘बुल’को अवस्था मान्‍न सकिन्छ ।

cfr.org

‘उनीहरुले ब्याजदर र अर्थतन्त्रको अवस्थालाई हेरेर केही योजनाहरु संचालन गर्ने तथा रोक्ने निर्णय गर्छन्,’ रिभर पोइन्ट कमर्स पार्कका डेभलपरमध्येका एक लोउ पेक्टोरले बताए।

आर्थिक अस्थिरताको समयमा केही समय कुरेर स्पष्ट भएर मात्र प्रमुख व्यापारिक लगानी गर्नुपर्ने उनी सुझाव दिन्छन्।

बाइडेनका पूर्व विशेष सचिव तथा नेसनल इकोनोमिक काउन्सिल तथा नेसनल सेक्युरिटी काउन्सिलका निर्देशक जेनिफर ह्यारिस फेडको  लक्ष्य अनुरुपको मुद्रास्फीति दर नियन्त्रणमा रहने अनुमान गर्छन्। हाल ‘सफ्ट ल्यान्डिङ’को अवस्था देखिएको उनको भनाइ छ। उनी भन्छन्- ‘यसले बेरोजगारी दर बढ्न नदिइ मुद्रास्फीति नियन्त्रणमा राख्‍ने लक्ष्य प्राप्ति हुनेछ। यो उत्पादकहरुको लागि पनि राम्रो हो।’

आगामी दिनमा अमेरिकी अर्थतन्त्र मन्दीमा गए पनि नगए पनि अमेरिकी उत्पादन क्षेत्रको लागि भने यतिबेला ‘बुल’को अवस्था मान्‍न सकिन्छ।