काठमाडौं। सेयर बजारमा एकाएक उछाल आएको छ। सोमबार सेयर बजार ४४.३० अंकले बढेको छ। निरन्तर घटेको सेयर बजार सोमबार भने एकाएक बुलिस ट्रेन्डमा गएको हो। यो वृद्धिसँगै नेप्से परिसूचक १९८६.९९ विन्दुमा पुगेको छ।
सेयर बजारमा आएको उछालसँगै डेढ अर्ब रुपैयाँको कारोबार भएको छ। जुन पछिल्लो ११ कारोबार दिनयताकै उच्च हो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने अनुमानमा सेयर बजार बुलिस ट्रेन्डमा गएको हो। सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिँदा ब्याजदर घटाउने सर्त राखेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले निक्षेपसँगै ऋणको ब्याजदर घटाउने सर्तमा स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने सुविधा आइतबारबाट दिएका थिए।
यसले तरलता थप सहज हुन्छ। कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले अहिले पनि बैंकहरु ऋण दिन एकदमै सहज अवस्थामा छन्। उनीहरुले करिब ४ खर्ब रुपैयाँ हाराहारी ऋण दिन सक्छन्। त्यही कारण बजारले सकारात्मक बाटो तय गरेको हो।
सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार उच्च भएको छ। कम्पनीको ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
कम्पनीको सेयरको माग उच्च भएपछि मूल्य पनि बढेको छ। एकै दिन कम्पनीको सेयर मूल्य एक कित्ताकै दुई सय रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य ५७ सय रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको पनि ५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सेयर बजार बढ्दा थ्री स्टार हाइड्रोपावर, मेन्छाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत मुनाफा कमाएका छन्।