BIZMANDU
www.bizmandu.com

१०६ वर्ष पुगेको रोयल गल्फ त्रिभुवन विमानस्थल विस्तारले हुँदैछ विस्थापित, अब कहाँ स्थापना होला?

२०८० भदौ २५

१०६ वर्ष पुगेको रोयल गल्फ त्रिभुवन विमानस्थल विस्तारले हुँदैछ विस्थापित, अब कहाँ स्थापना होला?
१०६ वर्ष पुगेको रोयल गल्फ त्रिभुवन विमानस्थल विस्तारले हुँदैछ विस्थापित, अब कहाँ स्थापना होला?

काठमाडौं। गल्फ अर्थात् कर्पोरेट जगतको खेल। संसारभर उद्योगी व्यवसायी जहाँ अरु खेल हेर्न र प्रायोजन गर्न चासो राख्छन्‚ त्यहीँ गल्फ आफैं खेल्न रुचि राख्छन्।

Tata
GBIME
Zonsen

राजधानीमा गल्फ खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै छ रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को गल्फ कोर्स। स्थापनाको १०६ वर्ष पूरा गरेको उक्त गल्फ कोर्सको अस्तित्व संकटमा छ।

त्रिभुवन विमानस्थल विस्तारका लागि योजनापिच्छे क्षेत्रफल खुम्चिँदै आएको गल्फले अब ठाउँ नै छाडेर जानुपर्ने भएपछि संकटमा परेको हो।

स्थापनाको शताब्दी नाघ्दा आरएनजीसीले एउटा पुस्तिका निकालेको थियो, जसअनुसार यो कोर्सको सुरुवातमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको रहेको उल्लेख छ।

उनी प्रधानमन्त्री छँदा ६ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायत गएको थियो। जहाँ उनीहरुलाई गल्फ खेल्नका लागि स्कटल्याण्ड बोलाइयो। नौलो खेलबारे थाहा नपाएका उनीहरुलाई ब्रिटिसले आधारभूत नियम सिकाएर पठाए। नेपाल फर्किएपछि त्यो टोलीले चन्द्र शम्शेरलाई रिपोर्टिङ गरे। र, उनले गल्फ कोर्सको आवश्यकता महसुस गर्दै निर्माणका लागि निर्देशन दिए।

फलत: पहिलो विश्‍वयुद्ध सकिँदानसकिँदै काठमाडौंमा ‘गौचरण गल्फ क्लब’को स्थापना भयो सिनामंगलको गौचरणमा। आरएनजीसीका सन् १९७४ देखि ७५ का क्याप्टेन प्रभाकर शम्शेर जबराका अनुसार पहिलो विश्‍वयुद्धमा नेपाली सेनाहरुले भारतमा लामो समय बिताए। त्यहाँ छँदा खाली समय गल्फ खेलेर बिताएका उनीहरुले नेपालमा पनि गल्फ भित्र्याउने योजना बनाए। तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर सकारात्मक हुँदा गल्फ फस्टाउने माहोल बन्यो।

विमानस्थलको विस्तारसँगै खुम्चिँदै गएको गौचरण मैदानले नेपाली गल्फमा ठूलो योगदान दिँदै आएको छ। हिमालय शम्शेर राणाको संस्मरणमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे रहेको स्थानमा गल्फ सिकाएको उल्लेख छ।

‘अलराउण्ड स्पोर्ट्सम्यान लव शम्शेर जबराले भारतमा पढ्दा गल्फ सिकेका थिए। उनी काठमाडौं फर्किएपछि ‘कजिन’ हरुलाई गौचरणको खाली स्थानमा गल्फ सिकाउँथे। त्यो स्थान हाल त्रिभुवन विमानस्थलको रनवे छ‚’ उनले लेखेका छन्। हाल राष्ट्रियदेखि अन्तर्राष्ट्रिय उडान अवतरणमा यही रनवे प्रयोग हुन्छ।

सन् १९१७ मा विश्‍वयुद्धताका ६ सदस्यीय प्रतिनिधि मण्डल बेलायतबाट फर्किएपछि गल्फ  स्थापना भएको उल्लेख छ।

तत्कालीन राजा त्रिभुवन पनि आफ्ना तीन छोराहरुलाई लिएर रोयल गल्फ कोर्समा आउने गर्थे।

सन् १९६५ मा तत्कालीन राजा महेन्द्रले संरक्षकत्व लिएपछि यसको नामकरण रोयल नेपाल गल्फ कोर्स (आरएनजीसी) भयो। राजपरिवारबाट तत्कालिन अधिराजकुमार बसुन्धरा शाहको गल्फमा विशेष चासो थियो। सोही वर्ष उनी आरएनजीसीको अध्यक्षसमेत बनेका थिए।

हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै रहेको आरएनजीसीले स्थापनाको १०६ औं वर्ष शनिबार मनाउँदैछ। यो गल्फकोर्समा नेपालस्थित राजदूतावासका कुटनीतिज्ञहरुदेखि व्यवसायी, बैंकरलगायत कर्पोरेट क्षेत्रका व्यक्तिहरु खेल्न पुग्छन्।

यहाँ गल्फ खेल्नै भनेर विदेशबाट आउनेको संख्या पनि ठूलो छ। विमानस्थलमा ओर्लनासाथ गल्फ कोर्स देखेपछि खेलका लागि आउने पर्यटकको संख्या पनि ठूलो भएको आरएनजीसीका महासचिव कृष्ण अग्रवालले बताए।

आरएनजीसीका महासचिव कृष्ण अग्रवाल।

दोस्रो विश्‍वयुद्ध चलिरहँदा यो कोर्स ११ वर्षका लागि बन्द भएको थियो। तर पछि खासगरी लगायत कूटनीतिज्ञहरुले आरएनजीसीमा गल्फ खेल्नेमा चासो बढाए। कहिले विमानस्थल विस्तार र कहिले अन्य कारणले बीच-बीचमा यो गल्फ कोर्स बन्द हुने र खुल्ने क्रम पनि चलिरह्यो।

अस्थिरताका बावजुद नेपाली गल्फको वर्तमान यात्रासम्म आरएनजीसीको योगदान सधैं महत्त्वपूर्ण रहँदै आएको छ।

३ सयभन्दा बढी सदस्य रहेको यो क्लबले ७५ जना क्याडी र ७० जना बढीलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिएको बताउँछन् आरएनजीसीका महासचिव अग्रवाल। त्यस्तै करिब ३०० मानिसहरु जनजीविकाका लागि यो गल्फकोर्समा निर्भर भएको उनको भनाइ छ।

यही क्लबबाट दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णधारी सुवास तामाङलगायत प्रतिमा राई, शिवराम श्रेष्ठ जस्ता खेलाडी उत्पादन भएको उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउन ३५ अर्ब रुपैयाँ खर्चिने गुरुयोजना (मास्टर प्लान) छ। नेपालको हवाई सेवा पूर्वाधार विकासका हिसाबले यो सकारात्मक भए पनि गल्फको दृष्टिमा भने अस्तित्वमै संकट भएको छ।

बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै नागरिक उड्‍डयन प्राधिकरणले मास्टर प्लान तयार पारेको हो। यो योजनाअनुसार त्रिभुवन विमानस्थल परिसरमा पूर्वाधार विस्तार भएसँग गल्फ कोर्सको अस्तित्व सकिनेछ।

त्यसो त शताब्दी लामो यात्रामा आरएनजीसीको संघर्ष संर्घष सधैं जमिनका विषयलाई लिएर विमानस्थलसँग रह्यो। त्रिभुवन विमानस्थल विस्तार चलेपिच्छे गल्फ कोर्स खुम्चिँदै गयो।

‘शताब्दी लामो अस्तित्व भए पनि आरएनजीसीसँग गल्फको लागि आफ्नै जमिन छैन। हामी हरेक वर्ष त्रिभुवन विमानस्थललाई ठूलो रकम कर बुझाउँछौं,’ महासचिव अग्रवालले भने, ‘यो सन्दर्भमा हामी सरकारको सहयोग खोजिरहेका छौं‚ ताकी हामी अझै नेपाली गल्फर उत्पादन गर्न सकौं।’

प्राधिकरणको गुरुयोजनामा नयाँ सुविधा सम्पन्‍न टर्मिनल भवन निर्माण गर्ने भन्‍ने छ। नयाँ टर्मिनल भवन विमानस्थलको उत्तरतर्फ ७५ हजार स्‍क्‍वायर मिटर क्षेत्रफलमा निर्माण गरिने छ। उक्त भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआइले तयार पारिसकेको छ। उक्त कम्पनीले सन् २०१६ मै नयाँ विमानस्थलको डिजाइन तयार गरेर प्राधिकरणलाई बुझाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग।

अहिले त्रिभुवन विमानस्थलबाट वार्षिक ४५ लाख भन्दा बढी यात्रुले सेवा लिएका छन्। प्राधिकरणले वार्षिक एक करोड यात्रु धान्‍ने गरी टर्मिनल भवन बनाउन लागेको हो। नयाँ भवन बनाएपछि अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको टर्मिनललाई आन्तरिकमा रुपान्तरण गरिनेछ।

नयाँ टर्मिनल भवन निर्माणका लागि हाल भएको नेपाली सेनाको ब्यारेक पूर्वतर्फ सारिने छ। राडरको एन्टेना भएको स्थानमा सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति भइसकेको छ। ३० वर्ष अघिकै गुरुयोजनाअनुसार सेनाले त्यहाँ अस्थायी संरचना बनाएर प्रयोग गर्दै आएको थियो।

यो टर्मिनल भवनका लागि पहुँचमार्ग नै फरक हुनेछ। नयाँ टर्मिनल भवनको प्रवेशद्वार हाल भएको गल्फ मैदानबाट रहने छ। नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै हाल भएको रोयल गल्फ स्थानान्तरण हुनेछ।

तर विमानस्थलले आरएनजीसीलाई केही आधिकारिक जानकारी नदिएको अग्रवालले बताए। आरएनजीसीले विमानस्थललाई वार्षिक २५ लाख भाडा दिने गरेको छ। २५० रोपनी भनिए पनि सडकको विस्तार हुँदैगर्दा करिब १५० रोपनी क्षेत्रफल मात्र प्रयोगमा रहेको अग्रवालले बताए।

विमानस्थल र आरएनजीसीबीच असारसम्म मात्र सम्झौता बाँकी रहेको बुझिएको छ। यसपछि सम्झौता नवीकरण हुने या नहुनेले आरएनजीसीको भविष्य निर्क्योल गर्नेछ।

विमानस्थलबाट कुनै आधिकारिक जानकारी नआएकाले विकल्पको खोजीबारे तयारी सुरु नभएको अग्रवालले बताए।