काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाललाई युरोपेली संघ (इयू)को सुरक्षा सूचीबाट बाहिर निकाल्न उड्डयन क्षेत्रमा कडा प्रावधान कार्यान्वयनमा ल्याएको खुलेको छ। क्यानले इयूको अडिट टोली आउनुअघि दुर्घटना नियन्त्रणका लागि केही महिनादेखि कडा प्रावधान कार्यान्वयनमा ल्याइरहेको हो।
क्यानको नेतृत्वले नोभेम्बरसम्म हरहालतमा नेपाललाई हवाई सुरक्षा सूचीबाट बाहिर निकाल्न खोजिरहेको छ। हुम्लासहित २९ वटा विमानस्थलमा दिउँसो १२ बजेपछि उडान रोक्नेदेखि हेलिकोप्टरलाई मनसुनमा माउन्टेन उडान, सिलिङ उडान तथा पुष्प वृष्टिजस्ता विशेष प्रकृतिका उडानमा निषेध त्यसकै लागि गरिएको क्यानका अधिकारीहरुले बताएका छन्।
‘अहिले जे जति प्रावधान आएका छन्। ती सबै सुरक्षा सूचीबाट बाहिरनका लागि हो,’ प्राधिकरणका एक उच्च अधिकृतले भने, ‘हामी सुरक्षा सूचीमा रहँदा अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश गएको छ। साथै युरोपसँग सीधा हवाइ कनेक्सन हुन सकेको छैन। यसले पर्यटन क्षेत्रलाई समेत गम्भीर क्षति पुगेको छ।’
इयूको हवाई सुरक्षा सूचीमा परेपछि नेपालमा १२ वर्षयता टर्किस एयरलाइन्सबाहेक अरु मुलुकका वायुसेवाले सीधा उडान गरेका छैनन्।
क्यानले दुर्घटना न्यूनीकरणका लागि केही पूर्वाधार पनि थपिरहेको छ। क्यानले विकट गन्तव्यमा इनरुट वेदरको जानकारी दिन पोखरा-मुस्ताङ र काठमाडौं-लुक्ला रुटमा एक वर्षअघि नै वेब क्याम जडान गरिसकेको छ। वेब क्याम अभावले यो रुटमा केही दुर्घटना भएका थिए।
इयुको प्राविधिकसहितको अडिट टोली आइतबार साँझ नेपाल आउँदैछ। यो टोलीको भ्रमण भने गोप्य राख्न खोजिएको थियो। तर पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार एक कार्यक्रममार्फत इयूको टोली आउन लागेको सार्वजनिक गरिदिए। उनले इयूको टोलीको अडिटपछि नेपाल सुरक्षा सूचीबाट बाहिर आउने दाबी पनि गरेका थिए।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले इयूका प्रतिनिधि नेपाल आउन लागेको जानकारी दिँदै त्यसका लागि पूर्वतयारी भइसकेको बताए। उनका अनुसार इयूको टोली अडिटका लागि आउन लागेको जानकारी ९ वटा हवाइजहाज सेवा प्रदायक र १२ वटा हेलिकोप्टर कम्पनीलाई दिइसकिएको छ।
‘हाम्रो तर्फबाट नेपालमा दर्ता भएका ९ वटा फिक्स विङ र १२ वटा हेलिकोप्टर गरी २१ कम्पनीलाई जानकारी गराइसकिएको छ। इयू प्रतिनिधिबाट प्राधिकरणको सेफ्टी ओभरसाइट सिस्टमको अध्ययन हुनेछ,’ सूचना अधिकारी भुलले बिजमाण्डूसँग भने, ‘त्यो रिपोर्ट इयूमा पेस भएपछि नोभेम्बरमा सुरक्षा सूचीबाट बाहिर आउने/नआउने निश्चित हुन्छ।’
यती एयरलाइन्सको दुर्घटनाले समस्या
सन् २०२२ मा आइकाओ अडिटपछि इयूको असिस्ट्यान्स मिसन उड्डयन क्षेत्रको अध्ययनका लागि नेपाल आएको थियो। त्यतिखेर नोभेम्बरमै सुरक्षा सूचीबाट हट्ने अनुमान थियो। तर नोभेम्बरमा भएको बैठकले सुरक्षा सूचीलाई निरन्तरता दियो।
त्यतिखेर क्यानले सेवा प्रदायक र नियमनको काममा परिचालित कर्मचारीलाई एउटाबाट अर्कोमा सरुवा नगर्ने निर्णयका साथै दुर्घटना जाँचबुझ नियमावली कार्यन्वयनमा ल्याएको थियो।
त्यसपछि इयूका उच्च अधिकारी र क्यानका महानिर्देशक प्रदीप अधिकारीबीच पुनः स्थलगत अध्ययन गर्ने समझदारी भएको थियो।
प्राविधिक टोलीले सन् २०२३ जनवरीदेखि फेब्रुअरीमा आएर उड्डयन क्षेत्रको अध्ययन गरेपछि नेपाल सुरक्षा सूचीबाट निस्किने क्यान नेतृत्वको आशा थियो। गत वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिटमा मुलुकको उड्डयन सुरक्षा दर ७० प्रतिशत पुगिसकेका कारण पनि क्यानको नेतृत्व सुरक्षा सूचीबाट निस्कनेमा ढुक्क थियो। तर जनवरी १५ मा पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि इयूको प्राविधिक टोली नै आएन।
सन् २०१० देखि २०१२ सम्म भएका पाँच वटा हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएपछि इयूले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो। इयूअन्तर्गत अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोयसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्याण्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जमवर्ग, माल्टा, नेदरल्याण्ड, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन लगायत २६ मुलुक छन्।