BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सले चिङताओमा सुरु गर्‍यो उडान, वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य

२०८० भदौ २४

हिमालय एयरलाइन्सले चिङताओमा सुरु गर्‍यो उडान, वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य
हिमालय एयरलाइन्सले चिङताओमा सुरु गर्‍यो उडान, वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-चिङताओ व्यावसायिक उडान सुरु गरेको छ। हिमालय एयरलाइन्सले आइतबार चिङताओमा व्यावसायिक उडान सुरु गरेको हो।

Tata
GBIME
Zonsen

एयरलाइन्सको एच ९-७२२० जहाज आइतबार बिहान ११४ यात्रु लिएर चिङताओतर्फ गएको छ। काठमाडौं-चिङताओको उडान अवधि करिब ६ घण्टा हो।

चिङताओमा उडान शुभारम्भका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनले हिमालय एयरलाइन्सलाई पोखराबाट पनि चीनमा उडान गर्न आग्रह गरे।

‘चीन बीआरआईको भूमि भएका कारण यो उडान अझ प्रभावकारी हुने देखिएको छ। गौतम बुद्धको जन्मथलो हुनुका साथै नेपालको संस्कृति चीनसँग मिल्दोजुल्दो छ,’ मन्त्री किरातीले भने, ‘सबै वायुसेवा कम्पनीप्रति हाम्रो समान दृष्टिकोण छ। पोखराबाट चीनका विभिन्न सहरमा उडानका लागि चिनियाँ सरकारसँग आग्रह गर्छु।’

कम्पनीका अध्यक्ष झो एनयोङले यो उडानले एसिया-युरोपबीचको व्यापार जोड्न थप टेवा पुर्‍याउने बताए। ‘चिङताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ । दुई देशबीच कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी गौरवान्वित छौं’, एनयोङले भने।

यसैगरी नेपालका लागि चिनीयाँ राजदुत चेङ सोङले यो नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउने बताए।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका विभिन्न गन्तव्यमा उडान गरेर वार्षिक १० लाख पर्यटक भित्र्याउनु कम्पनीको मुख्य उद्देश्य भएको बताए। ‘हामीले चिनियाँ गन्तव्यको उडानलाई प्राथमिकता दिंदै आएका छौं। बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएका छौं’, उनले भने।

एयरलाइन्सले चारवटा जहाजमार्फत चीनका विभिन्न गन्तव्यका साथै संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशमा पनि उडान गर्दै आएको छ।