BIZMANDU
www.bizmandu.com

बाइकमा अफ राेड एडभेन्चर : काठमाडौंको धाप र सिन्धुपाल्चोक हैबुङको थ्रिलिङ यात्रा

२०८० भदौ २३

बाइकमा अफ राेड एडभेन्चर : काठमाडौंको धाप र सिन्धुपाल्चोक हैबुङको थ्रिलिङ यात्रा
बाइकमा अफ राेड एडभेन्चर : काठमाडौंको धाप र सिन्धुपाल्चोक हैबुङको थ्रिलिङ यात्रा

काठमाडौं। यसपटक हामी केही फरक शैलीको टेस्ट ड्राइभ गर्ने मुडमा थियौं। लगातार गाडी चढेकाले मोटरसाइकल हाम्रो रोजाइमा पर्‍यो। नजिकै कतै ‘अफरोड’ यात्रा गर्ने हाम्रो योजनालाई साथ दियो जावाको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले। त्यहाँ उपलब्ध तीन फरक मोडलका बाइक हामीले रोज्यौं। ‘अन रोड’ र ‘अफ रोड’ दुवै।

Tata
GBIME
NLIC

बाइक भएपछि हामीसामु प्रश्न थियो – जाने चाहिँ कहाँ?

उत्तर पनि थियो – त्यहाँ जाने जहाँ यात्रा अफरोड र ‘एड्भेन्चर’ले भरिएको होस्।

विकल्प धेरै हुनुले कहिलेकाहीँ रोज्नमा सकस पर्ने रहेछ। काठमाडौं वरपर यस्ता धेरै ठाउँ छन् जहाँ हामी अफरोड यात्राको मजा लिनसक्छौं। अन्तिममा हामीले गन्तव्य तय गर्‍यौं – काठमाडौंको धाप र सिन्धुपाल्चोकको हैबुङ।

मोटरसाइकल स्टार्ट गरेसँगै ट्राफिक जाम छिचोल्दै हामी लाग्यौं पूर्वोत्तर काठमाडौंतिर। आउनुस् हामीसँगै यात्राको अनुभूति गर्नुस्।

बाइक : जावा यज्दी एड्भेन्चर, यज्दी स्क्र्याम्बलर र जावा फोर्टी टू

सीसी : ३३४, ३३४ र २९३  

अफरोड/अनरोड : दुवै

ट्राफिक जाम पार नहोउन्जेल बाइक ड्राइभिङको अनुभूति रोमाञ्चक थिएन। बलियो हर्षपावरलाई भीडले सकसपूर्ण बनाइरहेको थियो। तर, जति गाउँतिर नजिकिँदै गयौं मोटरसाइकलको ‘पावर’को ‘थ्रिलिङ’ अनुभूति हुँदै गयो। प्रवीण रानाभाटले सुन्दरीजल वीपी संग्राहलय नजिकै एक सय किलोमिटर प्रतिघन्टाको रफ्तार रेकर्ड गरे। रविन खाकीले ९० किलोमिटरको। फराकिलो बाटो र ट्राफिक कम हुँदा मोटरसाइकलको रफ्तार आफसेआफ बढिहाल्ने उनीहरुको टिप्पणी थियो।

सुन्दरीजल बसपार्क पुग्नुभन्दा केही अगाडिबाटै हामी दायाँतिर मोडियौं र मेलम्ची खानेपानीको रिजर्भ ट्याङ्कलाई बायाँ पारेर उकालोतिर लाग्यौं।

केही अगाडि नै सेनाको चेकपोस्ट भेटियो। यहाँबाट हामी शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै थियौं। एउटा मोटरसाइकलको १५० र प्रतिव्यक्ति १ सय रुपैयाँ तिरेपछि हामीलाई अफरोडको अनुमति मिल्यो। यात्राका लागि हामीले ‘वीकेन्ड’ रोजेका थिएनौं किनकि भीड धेरै हुन्थ्यो।

‘शनिवार त टन्नै उठ्छ होला है?‚’ प्रश्न प्रवीणको थियो।

चेकपोस्टमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मीले जवाफ दिए – ‘त्यस्तै एक लाख जति उठ्छ।’

उनको भनाइले हाम्रो अफरोड यात्रा काठमाडौंका बाइकर्सका लागि कुनै नयाँ गन्तव्य होइन भन्ने पुष्टि गरिरहेको थियो। नयाँ थियो भने हाम्रा लागि मात्रै।

रविन र प्रवीणका लागि सामान्य भए पनि साथी रोजन श्रेष्ठ र ऋषिकेश दाहाल पहिलो पटक हेभी मोटरसाइकल लिएर हिँडेकाले केही मनमा संशय भने थियो। चलाउन पो नसक्ने हो कि ! हामी कम्तिमा ५० किलोमिटर यस्तै अफरोडमा हुइँकिँदै थियौं‚ जुन सहजदेखि जटिलसम्म हुनेवाला थियो।

सुन्दरीजल मन्दिरको पूर्वतिर नागमतीमा हामी एकैछिन अलमलियौं। चिसो पियौं। त्यसपछि घुम्ती र उकालो लगातार चलिरह्यो। ढुंगे बाटो र मोडहरु उत्तिकै। ठाउँठाउँमा हिलो पनि। रविनले ड्राइभ गरिरहँदा म उसको बाइकको पछाडि सिटमा थिएँ।

अप्रत्यासित ऋषिकेश सरको बाइक हामीलाई हिलो छ्याप्ने गरी हुइँकियो। त्यसपछि हामी पनि के कम? एक अर्कालाई कसरी हिलो छ्याप्न सकिन्छ भन्ने दाऊ खोजिरह्यौं, बाटैभरी। पाएसम्म हिलो छ्यापिरह्यौं। उकालोमा तातेको इन्जिनमा हिलोसहितको पानी छ्यापिँदा झ्वाइँइँइँ… आवाज सहित बाफ उडिहाल्थ्यो।

झुलेभन्दा माथि पुगेपछि एकैछिन हामी अडियौं।

‘अनरोड बाइक पनि कस्तो स्मुद ! यस्तो अफरोडमा पनि मस्त गुड्यो। कतै अलिकति पनि चिप्लिएन,’ बाइक रोकिनासाथ ऋषिकेश सरको प्रतिक्रिया आयो। जावा फोर्टी टू सरले चलाइरहेको बाइक थियो जसको ग्राउन्ड क्लियरेन्स तीनवटामध्ये सबैभन्दा कम थियो। र, त्यस्तो अफरोडमा पनि कतै बाइकले छोएनछ।

बाइक : जावा यज्दी एडभेन्चर
सीसी : ३३४‚ म्याक्स पावर : ३०.३० बीएचपी‚ म्याक्स टर्क : २९.९० एनएम‚ ह्वील बेस : १४६५ एमएम
ग्राउन्ड क्लियरेन्स : २२० एमएम‚ फ्युल टंयांक : १५.५ लिटर‚ मूल्य : ९ लाख ९६ हजार

‘दाम्मी रै’छ नि ! तीन नम्बरमै यस्तो उकालो भ्याइयो,’ प्रवीणले आश्चर्य मिश्रित भावमा सुनाए। नहोस् पनि किन प्रवीणले हामीमध्ये सबैभन्दा पावरफुल बाइक दौडाइरहेका थिए।

बाइकिङ गरेका तीनैजनाले डबल लोडमा पनि उकालोमा १ नम्बर गियरमा झार्न परेन। उकालोको मात्र १५ किलोमिटर यात्रापछि हाम्रो निचोड – इन्जिनको पर्फर्मेन्स पर्फेक्ट।

अफ रोड र अन रोड दुवै भर्सनको टेस्ट। दुवैमा खरो उत्रिए बाइकहरु। यहाँबाट हामीले बाइक साटफेर गर्‍यौं। खासमा, मेरो त पालै आएन पो !

अब प्रवीणले चलाइरहेको जावा यज्दी एडभेन्चर बाइकमा ऋषिकेश सरको हुइँकाइ सुरु भयो एक्लै। लडाइदिने पो हो कि भन्दै म त चढ्न गइनँ। रविनले चलाइरहेको जावा यज्दी स्क्रयाम्ब्लर प्रविणले चलाउन थाले। म चाहिँ ब्याक सिटमा बसेर ‘राइडर’ फेरिरहेको थिएँ। ओराली उकाली र घुम्ती गर्दै हामी पुग्यौं धाप।

बाइक : जावा फोर्टी टु
इन्जिन सीसी : २९४.७२‚ म्याक्स पावर : २७.३२ पीएस‚ म्याक्स टर्क : २६.८४ एनएम‚ ह्वील बेस :१३६९ एमएम‚
ग्राउन्ड क्लियरेन्स : १६५ एमएम‚ फ्युल ट्यांक : १४ लिटर‚ मूल्य : ६ लाख ७३ हजारदेखि ७ लाख ७१ हजार

‘शो’ रुमबाट निकालेको बाइक यहाँ पुग्दा हिलो मैलोले ढाकिसकेको थियो। केहीबेर धापमा विचरण गर्‍यौं। अनि फेरि केही तल झर्‍यौं र सोझियौं हैबुङमा रहेको प्रकृति रिसोर्टतिर।

हामीले आफ्नो यात्रा अनुभूति साटासाट गर्‍यौं। जावा ब्रान्डका यी तीन फरक फरक मोटरसाइकलमा हामी पाँचै जनाले फेरिफेरि यात्रा गर्‍यौं। पर्फर्मेन्सप्रति सबैको रेटिङ रह्यो – अब्बल। डबल लोड लिएर निकुञ्जभित्रको ढुङ्गे र उवडखावड बाटोमा पनि तीन नम्बर गियरमा यात्रा गर्न सक्नु चानचुने कुरा थिए। रमाइलो त के भने उकालो कटेर बाइकको स्टार्ट बन्द गर्दा पनि फ्यान चलिरहेको थियो। बाइकको इन्जिन तातेपछि त्यसलाई ‘कूल’ गराउन कुलिङ फ्यान आफसेआफ सक्रिय भइहाल्थ्यो।

यात्राको अन्तिममा चेक गर्दा २४ किलोमिटर प्रतिलिटर पेट्रोलका दरले खपत भएछ। यस हिसाबले पनि बाइकको माइलेज तारिफयोग्य रह्यो।

बाइक : जावा यज्दी स्क्रयाम्ब्लर
इन्जिन सीसी : ३३४‚ म्याक्स पावर : २९.७७ पीएस‚ म्याक्स टर्क : २८.२१ एनएम‚ ह्वील बेस : १४०३ एमएम
ग्राउन्ड क्लियरेन्स : २०० एमएम‚ फ्युल ट्यांक : १२.५ लिटर‚ मूल्य : ९ लाख ४८ हजार

‘ठूलो बाइक भए पनि मलाई चाहिँ ‘जावा फोर्टी टू’भन्दा यज्दी सजिलो बाटोमा केही चिप्लिएको फिल भयो,’ ऋषिकेश सरको प्रतिक्रिया, ‘सायद टायरको प्रोब्लम हुनुपर्छ। बाँकी दुवै बाइक मोडमा स्पिड लिँदा पनि असहज भएन।’

बाइकिङ गर्दै यहाँ पुगेका ऋषिकेश सर र मेरा लागि प्रकृति रिसोर्ट दोस्रो पटकको गन्तव्य बनिरहँदा रविन रोजन र प्रवीणका लागि भने पहिलो पटक थियो। असहज बाटोमा थकित उनीहरु रिसोर्टतिर जाने भनेपछि मख्ख सुनिए।

बाइक बिसाएर यहाँ नास्ता तयार होउन्जेल हामी रिसोर्टतिर घुमिरह्यौं। फूलका विरुवा हुर्किँदै रहेछन्। टन्नै स्ट्रेवरी रोपिएको रहेछ यसपाला। साइक्लिङ, हाइकिङ र हामीजस्तै बाइकिङ गरेर आउनेहरु यहाँसम्म तानिएकै हुन्छन्।

‘तपाईँहरु बिहीबार नै आउनुभयो। भोलि त एउटा पनि रुम खाली छैन,’ प्रकृतिका संचालक अरुण श्रेष्ठले सुनाए। उनका अनुसार निकुञ्जभित्रको बाटो यस्तै ‘अफरोड’ नै रहिरहने भएकाले बाइकर्सका लागि गज्जबको गन्तव्य बनिरहेको छ। ‘रात परेपछि गाह्रो होला। तपाईँहरु निस्किँदा राम्रो,’ हाम्रो अलमल देखेर उनले सुझाए।

यहाँसम्म हामी नलडी आए पनि रात पर्दा लड्ने जोखिम थियो। अध्यारो हुँदै थियो भने आकाशतिर बादल पनि बाक्लिएको महसुस भयो। हामी निस्कियौं। त्यसपछिको यात्रामा जे भयो त्यो स्वभाविक नै भए पनि हाम्रा लागि असहज चाहिँ रहे।

फर्किँदा हामीमध्ये त्यसले मात्र मोटरसाइकल लडाएन, जसले चलाएन। अफरोडको नेचर अनुसार हामी लड्दैपड्दै फर्किरहेका थियौं। उक्लिँदा सुन्दरीजलबाट माथितिर लागेका हामी झर्दा चाहिँ झुलेतिरको बाटोबाट आयौं। सुन्दरीजल र झुले छुट्टिने ठाउँमा पुग्दा पूरै अध्यारो भइसकेको थियो। ठाडै ओरालो पनि। पछाडि बसेका साथीहरु ओर्लिए। सुरुमा मेरो भाग नपुगे पनि फर्केर यहाँ आइपुग्दा एउटा बाइक चाहिँ मैले नै चलाइरहेको थिएँ।

यहाँबाट तलतिर झर्नु कम्ति जोखिमपूर्ण रहेनछ। ठाडो उकालो र झरीले काटेर बनाएको बाटो खुट्याउनै कठिन। हामीले कतै इन्जिनको बल प्रयोग गर्‍यौं त कतै आफ्नै पाखुरीको। यो कष्टकर ओरालोमा रविन र प्रवीणले जीम गरेको जोस देखाए भने रोजनले सिलाजितको शक्ति।

पानीले काटेर नामोनिसान बिगारेको बाटोबाट झुले झरेपछि भने सडकको यात्रा सरर।

‘झुले झर्दा पानी परेको भए?’ झुले अर्ग्यानिक रिसोर्टमा चिया पिउँदै गर्दा मेरो प्रश्नमा ऋषिकेश सरको रिप्लाइ – ‘हामी या बाइकमध्ये कोही चाहिँ सग्लै पुग्दैन थियौं होला।’ पानी छिट्याउँदा हामीले जे शंका गरेका थियौं। एकैछिनमा त्यो सत्य साबित भयो।

साँखु पुग्दा त पानीले हामीलाई नमिठोगरी पिट्यो। भोलिपल्ट शो रुममा पुग्दा जावा स्क्र्याम्बलर बाइकको ‘क्लच’ चाहिँ साह्रै साह्रो भएको सुनायौं।

‘यो सर्भिस गर्नपर्ने बेला भएको बाइक हो नि त।’

जवाफ मिल्यो।

‘हैट! हामी सर्भिस गर्नुपर्ने बेलाकै बाइक लिएर यस्तो स्मुद यात्रा गरेर पो फर्किएका रहेछौं त!’