BIZMANDU
www.bizmandu.com

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान, थिम्पुबाट आयो ड्रुक एयरको विमान

२०८० भदौ २३

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान, थिम्पुबाट आयो ड्रुक एयरको विमान
तस्बिर : रासस।


कास्की। भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ। भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र ३ यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो।

Tata
GBIME

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आएको ८ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ। गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो।

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गरेका हुन्।

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए। उनका अनुसार प्रतियात्रु ३ हजार रुपैयाँ विमानस्थललाई आम्दानी भएको छ।

उनले भने, ‘यो पोखराको पहिलो कमर्सियल उडान हो। यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौँ, चार्टरको रूपमा आएको हो। यसका लागि मेहनत गरेका थियौँ, कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ, यसबाट उनीहरू कन्भिस भएर आएका हुन्।’

भारत, नेपाल र भुटान घुम्‍ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए। उनीहरू ३ दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

काठमाडौंबाट उनीहरू ८ हेलिकोप्टरमा पोखरा आएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन। विमानस्थल आन्तरिक उडानमा सीमित छ। यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो। रासस