BIZMANDU
www.bizmandu.com

नेपाली इभी बजारमा आयो अर्को हट केक टियागो, सिप्रदीले खुलायो बुकिङ, मूल्य ३० लाखभन्दा कम

२०८० भदौ २२

नेपाली इभी बजारमा आयो अर्को हट केक टियागो, सिप्रदीले खुलायो बुकिङ, मूल्य ३० लाखभन्दा कम
नेपाली इभी बजारमा आयो अर्को हट केक टियागो, सिप्रदीले खुलायो बुकिङ, मूल्य ३० लाखभन्दा कम


काठमाडौं। टाटाको सबैभन्दा सस्तो विद्युतीय गाडी टियागोको बुकिङ खुला भएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले शुक्रबारदेखि टियागो इभीको बुकिङ खुलाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत टियागो इभीको बुकिङ खुला गरिएको जनाएको छ। कम्पनीले यो गाडीलाई केही दिनपछि हुने नाडा अटो शोमा पनि राख्ने तयारी गरेको छ। टाटाको अहिलेसम्मकै सस्तो इभी भएकाले यसलाई हट केक मानिएको छ।

सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याउने भएको हो। टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध हुनेछ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ। बीएचपीले गाडीको एक्सिलेरेसन र टप स्पिड निर्धारण गर्छ। बीएचपी भनेको इन्जिनको शक्ति हो। टर्कले गाडीको टर्निङ फोर्स कति छ भनेर निर्धारण गर्छ।

यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा भएको ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्न सक्छ।

यो गाडी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

टियागो भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय कार हो। त्यसैले नेपालमा पनि यो गाडीको मूल्य ३० लाख रुपैयाँ भन्दा तल निर्धारण गर्ने सिप्रदीको तयारी छ।

यसमा स्पोर्ट मोडल पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ। कम्पनीले अहिलेसम्म मूल्य भने तोकेको छैन।