काठमाडौं। भारतमा यही शनिबारदेखि जी २० सम्मेलन सुरु हुँदैछ। विश्वका २० धनी देश (युरोपियन युनियनसहित) र आमन्त्रित देशका हजारौं डेलिगेट्सहरु सम्मेलनका सहभागी हुन दिल्ली पुगिरहेका छन्। उनीहरुको सुविधाका लागि भारत सरकारले एक हजारभन्दा बढी सुविधा सम्पन्न गाडीहरुको व्यवस्था गरेको छ।
डेलिगेस्ट्सहरुको संख्या, सुरक्षा संवेदनशिलता र दिल्लीका सडकहरुको अवस्था हेरेर भारतले लक्जरी गाडीको व्यवस्था गरेको हो। सम्मेलनका लागि भारतमा गाडीको संख्या अपुग भएपछि नेपालबाट पनि टोयोटाको लक्जरी भ्यान भाडामा दिल्ली लागिएको छ।
भारतको पुरानो गाडी रेन्टल कम्पनी केटीसी इन्डियाले गत शनिबार नेपालबाट २५ वटा टोयोटा कम्युटर भ्यानहरु भाडामा लगेको हो। कम्पनीले ३ महिनाको प्रर्मिट लिएर ती भ्यानहरु नयाँ दिल्ली लगेको हो।
केटीसी इन्डियाले काठमाडौंका विभिन्न ट्राभल एजेन्सी र गाडी भाडामा दिने कम्पनीहरूबाट यी गाडीहरु लगेको हो।
नेपालले आयोजना गरेको यसअघिका अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरूमा भारतबाट लक्जरी सवारीसाधन आयात हुँदै आएको थियो। सन् २०१४ मा काठमाडौंमा भएको १८औं सार्क शिखर सम्मेलन र सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलन नेपालले भारतबाट लक्जरी गाडी आयात गरेको थियो। तर यस पटक भारतले जी २० सम्मेलनका लागि नेपालबाटै गाडी भाडामा लगेको हो।
यस्तै, जी २० सम्मेलनकै लागि दुबईबाट पनि लक्जरी गाडी भारत ल्याइएको छ। कम्पनीले अहिलेसम्म सम्मेलनका लागि ६० प्रतिशत लक्जरी गाडी व्यवस्था गरिसकेको छ। जसमा ६५० वटा सेडान कार र ३०० वटा लक्जरी भ्यानहरु छन्।
बोगाटी, बेन्टली, पोर्श, फक्सवागेन, ल्यम्बोर्गीनी, बिएमडब्लु ५ सिरिज, अउडी, मर्सिडिज ई-क्लास र जीएलएस मोडलका गाडीहरु सम्मेलनमा प्रयोग हुँदैछन्। यी गाडीकोहरुको मूल्य भारतीय बजारमा ७० लाखदेखि २ करोडसम्म रहेको छ।गाडीहरुको भाडा प्रति युनिट दैनिक १० हजारदेखि ७० हजार रुपैयाँ भारतीय रुपैयाँसम्म रहेको छ।
जी २० सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक लगायत नेताहरु सहभागी हुँदैछन्। यसपटकको जी २० सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने छैनन्। यस्तै, चीनका राष्ट्रपति सी चिनफिङ पनि दिल्ली नजाने लगभग पक्का भइसहेको छ।