BIZMANDU
www.bizmandu.com

चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था छ : झरना थापा

२०८० भदौ २१

चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था छ : झरना थापा
चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था छ : झरना थापा


काठमाडौं । झरना थापाद्वारा निर्देशित ‘एक भगवत गीता’ को अधिकांश छायांकन जनकपुरमा गरिएको छ। सो फिल्म भदौ २९ गते प्रदर्शन हुँदैछ।

Tata
GBIME
NLIC

मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायांकन गरिएको हो।

पछिल्लो केही वर्षयता मधेशले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताइन्।

‘हाम्रो चलचित्रमा मधेशको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ। यसले जानकी मन्दिरको पर्यटनमा टेवा पुर्‍याउनेमा म विश्वस्त छु’, उनले भने, ‘तराईको बजारलाई ध्यान दिँदै मैथिली भाषाको प्रयोग गरिएको छ। तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौं।’

स्थानीय भाषामै स्वरांकन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भए तापनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उनले बताइन्।

निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउँदै छिन्। अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उनको योजना छ।

‘मैले सुरुवाती समयलाई सिकाइको रूपमा लिएँ। धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्यशैलीका चलचित्र निर्देशन गरें। किनकि ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु’, उनले भनिन्।

उनले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको बताइन्। बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उनको बुझाइ छ।

उनले भनिन्, ‘हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्यमान्यता जोडिँदो रहेछ। तर स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत नै सन्तुष्ट हुनुपर्छ।’

उनीद्वारा निर्देशित चलचित्रमा यौनिक लैंगिक अल्पसंख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत प्रस्तुत गरेका छन्। चलचित्रमा सुहाना थापा, धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरहेको छ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलले पटकथा, राजेश श्रेष्ठले छायांकन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। रासस