BIZMANDU
www.bizmandu.com

नेपाल र अमेरिकी सेनाको काठमाडौंमा संयुक्त अभ्यास हुँदै, एक टोली गयो बेलायत

२०८० भदौ २०

नेपाल र अमेरिकी सेनाको काठमाडौंमा संयुक्त अभ्यास हुँदै, एक टोली गयो बेलायत
नेपाल र अमेरिकी सेनाको काठमाडौंमा संयुक्त अभ्यास हुँदै, एक टोली गयो बेलायत

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच नियमितरुपमा संचालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४० औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ।

Tata
GBIME

आउँदो असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा हुने उक्त अभ्यास संचालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जानकारी दिएको छ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशहरुका सैन्य संगठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ।

भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ।

यसैबीच बेलायतमा संचालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको पनि निर्देशनालयले जनाएको छ।