काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकाल सुरु गरेको पाँच दिनपछि पुस १६ गते घोषणा गरे -‘भाषण कम काम धेरै गर्छु।’ तर, उनका गतिविधि ठिक उल्टो छन्। भाषण ज्यादा काम कम। अझ प्रचण्डको प्राथमिकतामा सरकारभन्दा गठबन्धन छ। पछिल्ला गतिविधिलाई मात्रै नियाल्दा औपचारिक समारोह र पार्टीका गतिविधिमै प्रचण्डको समय बित्छ। जहाँ उनले लामो भाषण गर्ने गरेका छन्। सरकारका महत्त्वपूर्ण कामलाई ओझेलमा पारेर प्रचण्डले समाजवादी मोर्चा, गठबन्धन र पार्टीका काममा जोड दिइरहेका छन्।
भदौ ७ मा सिंहदरबार पुनर्निर्माण अवलोकन गरेका प्रचण्ड टुँडिखेलको गौरामा पनि पुगे। मोर्चामा प्रचण्डको ध्यान कतिसम्म छ भने भदौ ८ मा वीरगंजमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न पुगिहाले प्रचण्ड। भदौ १२ मा बुटवल, भदौ १४ मा सुर्खेत र भदौ १५ मा पोखरामा आयोजित समाजवादी मोर्चाका कार्यक्रममा पनि आफैँ पुगे उनी।
सरकारका काममै खटिएर अरू नेतालाई उनले मोर्चाको कार्यक्रममा पठाउन नसक्ने होइनन्। तर, त्यतातर्फ प्रचण्डको ध्यान छैन। प्रचण्डले आफ्नो योजना अनुसार समाजवादी मोर्चा बनेकाले अरू नेतालाई मोर्चाको जिम्मा नदिएको माओवादी केन्द्रका नेता बत्ताउँछन्। मोर्चामार्फत कम्युनिस्ट घटकलाई माओवादीमा मिसाउने प्रयास भएकाले पनि मोर्चाका गतिविधिमा देश दौडाहामा निस्कनु परेको प्रचण्डले पार्टीका नेतालाई ब्रिफिङ गर्ने गरेका छन्।
सरकारका कामभन्दा गठबन्धन र पार्टीका गतिविधि प्रचण्डको प्राथमिकतामा छन् भन्ने अर्को उदाहरण हो -भदौ १२ को प्रतिनिधि सभाको दृश्य। उनले संसदमा हतार-हतार सांसदले सोधेका प्रश्नको जवाफ दिएर बुटवल गएका थिए। त्यहाँ कुनै सरकारी कामका लागि प्रचण्ड गएका भने थिएनन्।
समाजवादी मोर्चाको सन्देश सभालाई बुटवलमा पनि सम्बोधन गरे उनले। भदौ १२ को राष्ट्रिय सभागृहमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश प्रशिक्षण कार्यक्रममा पनि उनले लामो समय बिताए। आधा घण्टाभन्दा बढी त भाषण मात्रै गरे।
प्रचण्ड प्रधानमन्त्री कम र पार्टी अध्यक्षको जिम्मेवारी बढी निभाइरहेका छन्। किनभने माओवादी केन्द्रले सुरु गरेको ३ महिने अभियानमा समेत प्रचण्ड आफैँ सक्रिय छन्। अरू नेताको भूमिका गौण हुँदा उनी आफैँले अभियानको सुरुवात गर्नेदेखि उद्घाटनसम्म गर्न भ्याए। अभियानको शीर्ष नेतृत्व तहमा प्रचण्ड आफैँ छन्।
भदौ १६ गते बिहान पार्टी कार्यालयबाट भर्चुअल रूपमा अभियानको उद्घाटन गरेका प्रचण्ड दिउँसो चन्द्रागिरि पुगेर अभियानमा सहभागी भएका थिए। उनले त्यहाँ आफू पाँच वर्षै प्रधानमन्त्री रहने भन्दै कार्यकर्तालाई हौस्याउने प्रयास गरे।
‘मलाई जसले हटाउने छन् तिनकाविरुद्ध लाखौँ करोडौँ जनताको बिचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पका साथ काम गरेको थिए। तर, अहिले ८ महिना हुँदैछ। म त हट्न परेको छैन। सायद लाग्दै छ ५ वर्ष हट्न पर्दैन जस्तो देख्दैछु। जनताको साथ समर्थन प्राप्त हुँदै गए गठबन्धन पाँचै वर्ष चल्छ,’ प्रचण्डले भनेका थिए।
प्रचण्डले समाजवादी मोर्चा र माओवादी केन्द्रका कार्यक्रममा पछिल्लो समय लगातार आफ्नो कार्यकालबारे टिप्पणी गरिरहेका छन्। गठबन्धनभित्रै पनि बेला बेलामा उपगठबन्धनको प्रयास प्रचण्डले अहिले पनि जारी राखेका छन्। चुनावअघि पनि प्रचण्डले कांग्रेस इतरका पार्टीलाई आफ्नो पक्षमा उभ्याएर सत्ता गठबन्धन भित्रै उपगठबन्धनको प्रयास गरेका थिए। अहिले पनि उनले विभिन्न सभा समारोहमा पुगेर आफ्नो पक्षमा माहौल बनाउन थालेको देखिन्छ।
साना-तिना कार्यक्रममा समेत समय खर्चिन थालेपछि प्रचण्डले सरकार र पार्टीका महत्त्वपूर्ण काम नै छुटाइरहेका छन्। जसको एउटा उदाहरण हो माओवादी केन्द्रको साउन १७-२१ सम्म चलेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले आफूले राजनीतिक प्रतिवेदन लेख्न नभ्याएको भन्दै केन्द्रीय सदस्यलाई बैठक सकिएपछि मात्रै राजनीतिक प्रतिवेदन वितरण गरेका थिए। जबकि राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यले अध्ययन गरेर बैठकमा छलफल गर्ने परम्परा छ।
पार्टीका गतिविधिमा मात्रै होइन प्रचण्डले सार्वजनिक समारोहमा पनि घण्टौँ बिताउने गरेका छन्। भदौ २ को ‘मेरो भ्वाइस युनिभर्स’को फाइनलमा पाँच घण्टासम्म प्रचण्ड कार्यक्रममा बसेका थिए। सरकारका महत्त्वपूर्ण काममा समय दिनुपर्नेमा झिना मसिना काममा समय दिन थालेपछि उनको दैनिकी नै अस्तव्यस्त भइरहेको छ।
महोत्सव मेला उद्घाटनमा समेत प्रचण्ड आफैँ उपस्थित हुने गरेका छन्। वैशाख ६ मा प्रचण्डले गोरखा पुगेर ‘चुम श्याग्या शताब्दी महोत्सव-२०८०’ को उद्घाटन गरेका थिए। त्यहाँ उनले गोरखा अस्पतालको आइसियुको पनि उद्घाटन गरे। देशको कार्यकारी पदमा बसेर पनि प्रचण्डले स्थानीय तहका भवनको समेत उद्घाटनमा समय खर्चिरहेका छन्। जसले गर्दा पनि उनको तेस्रो कार्यकाल अस्तव्यस्त बनिरहेको छ।
प्रचण्डले जेठ २७ मा नुवाकोटको लाँकुरी भन्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका थिए। प्रधानमन्त्रीको समय तथा कार्यक्रम व्यवस्थापनमा सल्लाहकारसहितको सचिवालय जिम्मेवार हुने भए पनि अन्तिम निर्णय कर्ता भने प्रधानमन्त्री स्वयम हुने तत्कालीन प्रधानमन्त्री माधव नेपालका प्रेस सल्लाहकार तथा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।
प्रचण्डको समय तथा कार्यक्रमको चुस्त व्यवस्थापन नहुँदा रिजल्ट नदेखिएको रिजालको भनाइ छ। ‘प्रधानमन्त्रीले सुरुमै मलाइ यसपटक धेरै शिलान्यास उद्घाटनमा जानु छैन। म सम्पूर्ण रूपमा सरकारको काममा लाग्छु भन्नुभएको थियो। उहाँको अहिले काम हेर्दाखेरी उद्घाटन, शिलान्यास, रियालिटी शो’लगायतका कार्यक्रममा मात्रै उहाँको समय बितेको छ। यो ८ महिनाको अवधिमा हाम्रो प्रधानमन्त्रीले आफ्नो इनिसियसनमा एउटा राम्रो विकासको कामको सुरुवात गरेको। परियोजना समयमा सकिएको देखिँदैन,’ उनले भने।
प्रचण्डले कार्यक्रमको छनोट र समय व्यवस्थापनमा ध्यान नदिँदा सरकार विभिन्न ठाउँमा चुकिरहेको भन्दै माओवादी केन्द्रकै नेताहरूले आलोचना गर्ने गरेका छन्। माओवादीका सचिव गणेश साहले कामहरूको प्राथमिकीकरण नगर्नु प्रचण्डको कमजोरी भएको बताए। जसकारण रणनीतिक काममा समेत असर परिरहेको साहको भनाइ छ।
‘प्रधानमन्त्रीको कमजोर पोइन्ट नै के हो भने चारैतिर आफैँ भ्याउने कोसिस गर्नुहुन्छ। त्यसैले रणनीतिक र महत्त्वपूर्ण कामहरू छुटेको पनि होला। समयको व्यवस्थापन सचिवालयले जुन स्तरमा गर्नुपर्थ्यो। मूल काम के हो? कहाँ जाने/नजाने भनेर व्यवस्था गर्नुपर्ने त्यस्तो देखिएन,’ उनले भने।
प्रचण्डको समय व्यवस्थापनमा चुस्तता नहुँदा सरकारको काममै असर परिरहेको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमको टिप्पणी छ। ‘उहाँकोमा अलिकति व्यवस्थापनको कमजोरी छ। त्यसले पर्फमेन्समै असर गरिरेकै छ नि,’ गौतमले भने।