काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। उनले अबको महाधिवेशनबाट पनि अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने बताएका हुन्।
एमालेकै कतिपय नेताले अबको महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउन चाहेकामा पौडेलले ओलीको विकल्प नरहेको बताएका हुन्। उनले शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीकै सामु भने, ‘पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट हुन सक्दैन।’
ओली स्वयंले तेस्रो पटक पनि अध्यक्ष हुने संकेत गरिसकेका छन्। उनले त्यसका लागि विधानमा रहेको ७० वर्षे उमेर हद सचिवालय बैठकबाट निलम्बन गराइसकेका छन्। तेस्रो कार्यकालका लागि निर्वाचित हुन विधान संशोधन गर्नुपर्छ।
‘एमालेमा नीति र नेतृत्वबारे कुनै समस्या छैन। हामी नीतिमा स्पष्ट छौँ। नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन। त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ उपाध्यक्ष पौडेलले भने। ओली २०७१ असारदेखि एमालेको अध्यक्ष छन्।