BIZMANDU
www.bizmandu.com

गाडी खरिदका लागि ऋणको सीमा बढाउन नाडा लबिङमा, कर्जा वर्गीकरणको नयाँ व्यवस्थाप्रति असन्तुष्टि

२०८० भदौ १५

गाडी खरिदका लागि ऋणको सीमा बढाउन नाडा लबिङमा, कर्जा वर्गीकरणको नयाँ व्यवस्थाप्रति असन्तुष्टि
गाडी खरिदका लागि ऋणको सीमा बढाउन नाडा लबिङमा, कर्जा वर्गीकरणको नयाँ व्यवस्थाप्रति असन्तुष्टि


काठमाडौं। गाडी खरिदका लागि ऋणको सीमा बढाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेको छ।

Tata
GBIME

राष्ट्र बैंकले सवारीसाधनको कर्जामा गरेको कसिलो व्यवस्थालाई लिएर असन्तुष्ट गाडी व्यवसायीले अर्थमन्त्रीमार्फत ‘लबिङ’ गरेका हुन्। नाडाका प्रतिनिधिले मन्त्री महतलाई भेटेर हायर पर्चेज कर्जाको सीमा ५० बाट ७५ प्रतिशत पुर्‍याउन आग्रह गरेको हो।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले मन्त्री महतलाई सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरणको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय संस्थालाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत कायम गरिनुपर्ने लगायत सुझाव दिएको छ। हाल यस्तो जोखिमभार १५० प्रतिशत छ।

कर्जा वर्गीकरणसम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्थाप्रति गाडि व्यवसायीले मन्त्रीसामु असन्तुष्टि जनाएका छन्। कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय गर्ने व्यवस्था व्यावहारिक नभएको र यसले व्यापारीहरु त्रसित भएको थापाले बताए।

निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नति नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भन्दै यस व्यवस्थालाई तत्काल सच्याउने पहलकदमी लिन पनि नाडाले आग्रह गरेको छ। मन्त्रीले समस्याबारे आफू जानकार रहेको भन्दै माग सम्बोधनको आश्वासन दिएको नाडाले जनाएको छ।