BIZMANDU
www.bizmandu.com

अवकाशप्राप्त शिक्षकलाई पुन: नियुक्त गर्दै चीन, १ लाख २० हजार कक्षाकोठामा फर्किँदै

२०८० भदौ १५

अवकाशप्राप्त शिक्षकलाई पुन: नियुक्त गर्दै चीन, १ लाख २० हजार कक्षाकोठामा फर्किँदै
अवकाशप्राप्त शिक्षकलाई पुन: नियुक्त गर्दै चीन, १ लाख २० हजार कक्षाकोठामा फर्किँदै

सांघाई। विश्वमा अवकाशको उमेर कम हुने मध्येको देश हो चीन। यहाँ हाल पुरुषका लागि ६० वर्ष तथा महिलाको हकमा  ‘ह्वाइट कलर’ लाई ५५ र ‘ब्लु कलर’ लाई ५० वर्ष उमेर हद कायम छ।

Tata
GBIME
NLIC

पछिल्लो समय वृद्धवृद्धाको संख्यामा वृद्धि भएपछि चीनले यस प्रावधानलाई पुन: मुल्यांकन गर्ने तयारी थालेको छ। बुधबार मात्र चीनको शिक्षा मन्त्रालयले यस्तै योजना सार्वजनिक गरेको छ। अवकाशप्राप्त शिक्षकलाई  पुन: कक्षाकोठामा फर्काउने  अभियान घोषणा गरेको मन्त्रालयले ३ वर्षभित्र एक लाख २० हजारलाई पुनः नियुक्त गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयले सार्वजनिक गरेको ‘सिल्भर एज टिचर एक्सन प्लान’ले अवकाशप्राप्त शिक्षकलाई पुन: सेवामा फर्किन प्रोत्साहन गर्ने विश्‍वास गरिएको छ। योजना अनुसार विभिन्न तहका सरकार र निकायको समन्वयमा अवकाशप्राप्त योग्यतम शिक्षकलाई सेवामा फर्काइने छ।

सन् २०२५ सम्म चीनमा ६० वर्ष माथिको जनसंख्या ३० करोड नाघ्ने अनुमान गरिएको र अवकाशप्राप्त शिक्षकको संख्या पनि बढिरहेको मन्त्रालयले जनाएको छ। सन् २०२२ मा सम्पन्‍न एक अध्ययनले चीनमा ६० वर्ष नाघेका अवकाशप्राप्त कामदार मध्ये ६८ प्रतिशतले अझै काम गर्ने इच्छा शक्ति प्रकट गरेको देखाएको थियो।

५१ जब नामको कामदार भर्ती गर्ने कम्पनीले गरेको सो अध्ययनले अधिक उमेरका कामदार माथि कार्यक्षेत्रमा अपमानजनक व्यवहार हुने गरेको समेत देखाएको थियो। अवकाशप्राप्त शिक्षक पुन: काममा फर्काउने योजना बनाएको मन्त्रालयले यो समस्यालाई कसरी सम्बोधन गर्छ भन्ने खुलाएको छैन।

अवकाशप्राप्त शिक्षकलाई यो योजनामार्फत सबै तह, प्राविधिक तथा व्यावसायिक शिक्षा, निजी क्षेत्र सबैमा फर्काइने उल्लेख छ। प्राथमिक तहसम्म अध्यापन गराउन चाहनेका हकमा बढीमा ६५ र अन्य तहका लागि ७० वर्ष उमेर हद तोकिएको छ।

विशेषगरी अवकाशप्राप्त शिक्षकको माग संगीत, क्यालिग्राफी कला क्षेत्रमा अधिक हुने बताइएको छ।

सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीको सांघाई लाइफ लङ एजुकेसन इन्स्टिच्युटका भाइस एक्जुकेटिभ डिन लि जियाछङले यस अभियानले शिक्षा क्षेत्रमा देशव्यापीरुपमा सकरात्मक प्रभाव पर्ने बताएका छन्।

‘हामीलाई शिक्षा क्षेत्रमा ठूलो जनशक्ति आवश्यक छ। अवकाशप्राप्त शिक्षकको भर्तीले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ’, उनले भने।

अवकाशप्राप्त शिक्षकलाई पुनः कक्षाकोठामा फर्काउने योजना चीनमा नौलो भने होइन। यसअघि २०१८ मा पनि शिक्षा मन्त्रालयले ग्रामीण क्षेत्रमा शिक्षा पहुँचका लागि अवकाशप्राप्त २० हजार शिक्षकलाई काममा फर्काएको थियो।

शिक्षा क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमा पनि अवकाशप्राप्त कामदार फर्काउने योजना चीनले बनाएको छ। १४ औं पञ्चवर्षीय योजना २०२१-२०२५ मा समेत यसलाई समावेश गरिएको छ। साथै, अवकाशप्राप्त गर्ने उमेर पनि हरेक वर्ष बढाउँदै लैजाने उल्लेख छ।