BIZMANDU
www.bizmandu.com

सुन तस्करीमा समातिएका दावाले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि

२०८० भदौ १४

सुन तस्करीमा समातिएका दावाले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि
सुन तस्करीमा समातिएका दावाले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि


काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको छ। गृह मन्त्रालयले गरेको छानबिनबाट दावाले नेपाली नागरिकता लिएको पुष्टि भएको हो।

Tata
GBIME
NLIC

बेल्जियमको पासपोर्ट रहेका तिब्बती मुलका दावालाई प्रहरीले साउन १४ गते काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो। उनी बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा नेपाल आएका थिए।

दावाले नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको मन्त्रालयले गठन गरेको छानबिन टोलीले पुष्टि गरेको हो। उनले २०७४ पुस २० गते नागरिकता लिएको देखिएको छ।

मन्त्रालयले गत साउन २२ गते उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। दावाले कीर्ते गरेर नेपाली नागरिकता लिएको देखिएको प्रतिवेदन समितिले मन्त्रालयमा बुझाइसकेको छ।

प्रतिवेदन अनुसार दावासहित अन्य केही विदेशीले पनि नेपाली नागरिकता लिएको देखिएको छ। समितिले यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट थप अनुसन्धान गराउन सिफारिस गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सीआईबीले अहिले ६१ किलो सुनको अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा दावासिहत २५ जना हिरासतमा छन्।