BIZMANDU
www.bizmandu.com

एसिया कपमा नेपालको ऐतिहासिक खेलमा नेतादेखि व्यवसायीको चासो, कसले के भने?

२०८० भदौ १३

एसिया कपमा नेपालको ऐतिहासिक खेलमा नेतादेखि व्यवसायीको चासो, कसले के भने?
एसिया कपमा नेपालको ऐतिहासिक खेलमा नेतादेखि व्यवसायीको चासो, कसले के भने?

काठमाडौं। नेपाली क्रिकेट टोलीका लागि आजको दिन ऐतिहासिक छ। उच्च प्रतिस्पर्धा हुने एसिया कपमा नेपालले आज डेब्यु गर्दैछ, त्यो पनि एकदिवसीय विश्ववरीयतामा शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्ध।

Tata
GBIME

यस्तोमा नेपालमा ठूलो चासोका रुपमा यसलाई हेरिएको छ। नेपाली क्रिकेट टोलीका लागि पाकिस्तान टोली, मुल्तान क्रिकेट मैदान र एसिया कप सबै नयाँ हुनेछ।

नेपालका राजनीतिज्ञ, व्यवसायीदेखि सर्वसाधारणसम्म सबै यो प्रतियोगिताका लागि उत्साहित छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भिडियो कन्फ्रेन्स गर्दै खेलाडीलाई शुभकामना दिएका छन्।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सपना पूरा भएको भन्दै नेपाली टोलीलाई शुभकामना दिएका छन्।

‘प्रतीक्षाको घडी समाप्त भएको छ। नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं। विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना!’

त्यस्तै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले टीभीमा सोएब अख्तर, शाहीद अफ्रीदीलगायतको खेल हेरेको स्मरण गर्दै नेपाल र पाकिस्तानबीचको खेलको परिकल्पना गरेका छन्।

‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो! अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान्! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला,’ बालेनले लेखेका छन्, ‘सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान्! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो। यो सपना आज केही समयमा पूरा हुँदै छ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले शुभकामा दिएका छन्।

यो लाइनमा व्यवसायीहरु पनि छन्। पूर्व वैङकरसमेत रहेका अनिल साहले भिडियो नै बनाउँदै शुभकामना दिएका छन्।
‘नेपालले पाकिस्तान र भारत जस्ता टोलीहरुसँग खेल्दैछ। मलाई नेपाली हुनुमा गर्व लागिरहेको छ।’ उनले खेलाडी पिचमा गएर खेल्ने वातावरण बनाउने क्रिकेट संघले भएको भन्दै पारस खड्कालाई क्यानको नेतृत्वमा आउन शुभकामना समेत दिएका छन्। उनीबाहेक सुबिसु केबल नेट तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुली लगायतले पनि नेपाली टोलीलाई शुभकामना दिएका छन्।

त्यस्तै नेपाली टोलीका पूर्व कप्तान र वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्षको उम्मेद्वार पारस खड्काले २५ वर्षपछि नेपाल यो स्टेजमा पुगेकोमा गौरवान्वित महसुस भएको बताएका छन्।

गायक प्रमोद खरेलले सुनौलो पलको साक्षी बन्न चाहेको उल्लेख गरेका छन्।

प्रतियोगिताको उद्‍घाटन खेलमा नेपाल र पाकिस्तान सवा ३ बजे मुल्तान क्रिकेट स्टेडियममा भिड्नेछन्।