BIZMANDU
www.bizmandu.com

बजेट विनियोजनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि, ‘योजनासँग तालमेल भएन’

२०८० भदौ १२

बजेट विनियोजनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि, ‘योजनासँग तालमेल भएन’
बजेट विनियोजनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि, ‘योजनासँग तालमेल भएन’

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

Tata
GBIME

दीगो विकाससम्बन्धी राष्ट्रसंघीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आयोजित परामर्श गोष्ठीमा उनले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो रहेको बताएका हुन्।

तिमिल्सिनाले भने, ‘बजेट र योजनाबीच तालमेल छैन। बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ। अबण्डमा बजेट राखेर कसरी दीगो विकास लक्ष्य प्राप्त हुन्छ। कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन।’

अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो विकासका लक्ष्य प्राप्ति हुने ढंगबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई उनले सुझाव दिए।

यस्तै, उपाध्यक्ष उर्मिला अर्यालले दीगो विकास लक्ष्य प्राप्त गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रसम्म गहन छलफलका साथ कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्।

 उनले भनिन्, ‘दीगो विकास लक्ष्यलाई दीगोपन दिन आवश्यक छ। बजेट विनियोजन र स्थानीय आवश्यकताबीच तालमेल हुनुपर्छ।’

दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले संघीय ससद् मातहतका सबै समिति यस मुद्दालाई छलफल गराउने बताए।

 उनले भने, ‘दीगो विकास लक्ष्य प्राप्तिमा समग्र विश्वमा १२ प्रतिशत प्रगति हासिल भएको छ। त्यसको तुलनामा नेपालको प्रगति सुधारोन्मुख नै रहेको भए पनि बाँकी अवधिमा बाँकी लक्ष्य हासिल गर्न योजना छनोट, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान पुर्‍याउनुपर्छ।’