काठमाडौं। कञ्चनपुरको दोधारा-चाँदनीमा बन्न लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि भारतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा नेपाललाई पठाएको छ।
जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा यो परियोजना सुरु भएको घोषणा गरेका थिए। त्यसपछि परियोजनाको डीपीआरको तयारी थालिएको हो। परियोजना भारतले निर्माण गरिदिने भनेको छ। त्यसैले डीपीआर बनाउने काम उसैले गरिरहेको हो।
भारतले पठाएको डीपीआरको मस्यौदा अनुसार बन्दरगाह निर्माणमा भारु ३ अर्ब ५७ करोड (५ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ) लाग्ने परियोजनाका इन्जिनियर अनिष केसीले बताए। तर डीपीआरले अन्तिम रुप पाइ नसकेकाले लागत र डिजाइन परिवर्तन हुन सक्ने सम्भावना छ।
यसबारे केहीअघि सहरी विकास मन्त्रालयसँग छलफल भएको थियो। परियोजना सहरी विकासअन्तर्गतको हो। डीपीआरको मस्यौदामा हालको डिजाइन नेपालगन्जको आईसीपीको जस्तै रहेको केसी बताए।
नेपाल इन्टरमोडल यातायात विकास समितिले डीपीआरको मस्यौदामा केही परिवर्तन गर्न सुझाव दिएको छ। समितिले भवनमा पेभमेन्ट फिनिस लेभलभन्दा अझै माथि बढाउन पर्ने सुझाव दिएको छ।
त्यसैगरी निर्यातका लागि जाने ट्रकको पार्किङ नम्बर ३० मात्र रहेको र त्यसलाई थोरै बढाउन पर्ने देखिएको केसीको भनाइ छ।
प्रस्तावित बन्दरगाह दुई चरणमा बनाउने भारतको योजना छ। पहिलो चरणमा २५ हेक्टर जग्गामा र दोस्रो चरणमा १७ हेक्टर जग्गामा निर्माणको काम गर्ने भारतको योजना रहेको केसीले बताए।
‘उनीहरुले अहिले देखाएको डीपीआरमा ४३ हेक्टरमा निर्माणको काम हुने उल्लेख गरेका छन्,’ केसीले भने, ‘यो अहिले निर्माण हुने सबै रोड कनेक्टिभिटी हो। तेस्रो चरणमा भने कार्गो रेलवेसँग कनेक्ट गर्ने योजना हो। तर डीपीआरमा कुनै लागत अनुमान छैन।’
नेपालमा साइडमा रोडवे कनेक्सन भएकाले उक्त परियोजनामा छुट्टै सडक निर्माण गर्नुपर्ने अवस्था छैन।
‘अहिले महाकाली नदीको पुल निर्माण सम्पन्न भएकाले खासै सडक निर्माण यस परियोजनामा पर्दैन। त्यहाँबाट सिधा अगाडि आइसीडीसम्म नेपालतिर निस्कन गेट हुने भएकाले त्यहाँसम्म सडक छ,’ उनले भने, ‘तर इन्डियातिर सीतारगंज-टनकपुर राजमार्ग छ। उक्त राजमार्गबाट नेपाल प्रवेश गर्ने गेटसम्मका लागि लगभग ४ किलोमिटर दूरीको एप्रोच रोड (पहुँच मार्ग) निर्माण गर्नुपर्ने अवस्था छ।’
केसीका अनुसार उक्त पहुँच मार्ग निर्माणका लागि भारतीय पक्षले ठेक्का आह्वान गरिसकेको छ। सर्वे सकेर फुटवेजहरु गाड्ने काम सकिइसकेको छ। यो निर्माण हुने जग्गा शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको हो। जसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृति भइसकेको छ।
इआइए प्रतिवेदनअनुसार लगभग १८९२ वटा रुख काट्नुपर्ने छ। त्यसको पहिचान गर्ने काम भइरहेको केसीले बताए। यो काम शुक्लाफाँटा कार्यालयले नै गरिरहेको छ।
सुक्खा बन्दरगाह नहुँदा अहिले सुदूरपश्चिमका लागि कतिपय मालसामान भैरहवा नाका हुँदै आयात गर्नुपरिरहेको छ। सुक्खा बन्दरगाह बनेपछि दिल्ली, गुजरात लगायत स्थानबाट सोझै सुदूरपश्चिममा आयात गर्न सकिने छ।
के के पूर्वाधार निर्माण हुन्छन् ?
पहिलो चरणमा डीपीआर अनुसार प्रशासनिक भवन, भन्सार र क्वारेन्टिन भवन, सुरक्षाकर्मीका ब्यारेक, इन्सपेक्सन स्टोरेज सेड्स र वेयर हाउस २ वटा, पार्किङ क्षेत्र, भित्रको सडक, बाउन्ड्री वाल, वाच टावरलगायत अन्य पूर्वाधारका काम छन्।
प्यासेन्जर टर्मिनल भवनको तल्लो तलामा इन्ट्रान्स लबी, ड्युटी फ्री सप, क्यास काउन्टर, सुरक्षा गार्ड कक्ष, फरेन एक्सचेन्ज रुम, बालबलिका हेरचाह कक्ष, एटीएम, अध्यागमन काउन्टर, सुरक्षा र भन्सार जाँच, एक्जिट लबी, भीआइपी रुम हुनेछन्।
पहिलो तलामा सर्भर रुम, स्टोर, इन्टिलिजेन्स रुम, कन्ट्रोल इन्ड कमान्ड रुम र अफिस हुनेछन्।
यसमा बन्दरगाह, एकीकृत जाँच चौकी, कन्टेनर यार्ड र प्रयोगशालाको स्तरोन्नति गर्ने योजना छ। यात्रुवाहक हलुका सवारी र बस पार्किङको पनि व्यवस्था गर्नुपर्ने छ।
यसैगरी बाउन्ड्री वाल २.४ मिटरको हाइ ब्रिक्स हुनेछ। वाटर ट्रिटमेन्ट प्लान्ट, अन्डरग्राउन्ड र ओभरहेड वाटर ट्यांक पनि निर्माण हुनेछन्। साथै तौल पुलहरु १२० मेट्रिक टनसम्मको हुनेछन्। यस्तै इलेक्ट्रिक गेट, ग्रीन हाउस क्षेत्र, ब्यारियर, चेकिङ पोइन्ट छन्।
यस्तै भविष्यमा आयात निर्यातका लागि पार्किङ विस्तार गर्ने र केही आवश्यक परेमा भवन र सेड निर्माण हुनेछन्।