BIZMANDU
www.bizmandu.com

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई पोखरेली व्यवसायीका पाँच आग्रह

२०८० भदौ ११

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई पोखरेली व्यवसायीका पाँच आग्रह
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई पोखरेली व्यवसायीका पाँच आग्रह

पोखरा। गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धुमधामका साथ उद्‍घाटन भयो। उद्‍घाटनको ७ महिना बितिसक्दा पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन। यसबीचमा चार्टर विमान भने अवतरण भएको छ।

Tata
GBIME
Zonsen

असारमा पोखरामा सम्पन्न ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चीनको सिचुवान एयरलाइन्सको जहाज अवतरण गरेको थियो। जसले पोखरेली व्यवसायीमा आशा जगाएको थियो। चार्टर विमान अवतरण भएसँगै पोखरेली व्यवसायी चीनले व्यावसायिक उडान गर्नेमा आशावादी थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग आन्तरिक उडानका लागि मात्र हुँदै आएको छ।

चीनबाट सिधै पोखरा उडान गर्नका लागि पोखरेली व्यवसायीले कसरत गरिरहेका छन्। उनीहरूको यो कसरतले फल भने पाएको छैन। यस विषयमा सरकारले वृहत् योजना बनाउनुपर्ने बताउँछन् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदैछन्। चीन जानुअघि प्रचण्ड पोखरा आउने तालिका छ। भदौ १५ गते पोखरा आउने प्रधानमन्त्रीलाई पोखरेली व्यवसायीले भेटेर पाँच बुँदे आग्रह गर्दैछन्।

पहिलो प्राथमिकतामा पोखरा विमानस्थल छ। प्रधानमन्त्रीलाई भेट गर्नुअघि सोमबार पोखरामा व्यवसायीले छलफल गरेका छन्। छलफलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले पोखरा विमानस्थल मुख्य एजेन्डा बन्नुपर्ने बताए।

‘पहिलो अन्तर्राष्ट्रिय उडान चीनबाट गर्न सफल त भयौं, त्यसलाई नियमित उडान गर्नका लागि पहल सरकारबाट कति भयो भन्ने कुरा गम्भीर विषय छ। चाइनिज एम्बेसडरलगायत धेरै ठाउँमा हामीले आग्रह गरिरहेका छौं। तर सरकारले पनि वृहत् रूपमा छलफल गर्न जरुरी छ। यो एउटा चीन भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्न सक्छ यो अवसर हो,’ उनले भने।

उनले निर्माणाधीन रहेको पोखरा-मुग्लिन सडक खण्डका विषयमा पनि कुरा उठाउनुपर्ने राय राखे।

‘पोखरा-मुग्लिन सडक खण्डले पोखराको पर्यटन ध्वस्त हुने अवस्थामा छ। यो अवस्थामा यो भ्रमणमा यो दुई वटा ठेकेदार कम्पनीलाई काम समयमा सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराउन प्रधानमन्त्रीमार्फत आवश्यक छ जस्तो लाग्छ मलाइ,’ उनले भने।

यस्तै कोरला नाकाको विषयबारे पनि व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन्। उक्त नाका खुल्ला गर्न सके कैलाश मानसरोवरको यात्रा छिटो र सहज हुने व्यवसायीहरू बताउँछन्।

सोमबार भएको छलफलले पोखरा विमानस्थल, कोरला नाका, छेकम्पार नाका खोल्ने, महावाणिज्य दूतावास पोखरामा स्थापना तथा प्रविधि हस्तान्तरणका विषयलाई महत्त्वमा राखेर प्रधानमन्त्रीमार्फत चीन सरकारलाई आग्रह गर्ने निष्कर्ष निकालेको छ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरामा चीनले महावाणिज्य दूतावास खोले लगानीको लागि प्रोत्साहन हुने भनाइ राख्छन्।

‘नेपालले चीनमा महावाणिज्य दूतावास खोलिसकेका छौं। चीनको तर्फबाट अब खोल्ने महावाणिज्य दूतावास पोखरामा नै खोल्नका लागि नेपाल सरकारलाई भन्न जरुरी छ। महादूतावास खोल्नुको मतलब ट्रेडलाई बढावा दिनु हो। लगानीका लागि प्रोत्साहित गर्नु हो। सजिलोसँग भिसा प्राप्त गर्नका लागि एउटा प्रक्रियाको थालनी गर्नु हो। अब चीनले खोल्न बाँकी छ, उसले ठाउँ हेर्दैछ, त्यो पोखरा नै उपयुक्त हुन्छ। त्यो विषयमा पनि सरकारको ध्यानाकर्षण हुनुपर्छ,’ मुल्मीको भनाइ थियो।

यस्तै कोरला नाकाको विषयलाई पनि उनले जोड दिएका छन्। कोरला खुल्ला भए पोखरा मात्र नभई गण्डकीको समृद्धिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।