काठमाडौं। प्रतिनिधि सभाका १० वटै समितिको नेतृत्व निर्विरोधरुपमा छानिएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली दौडबाट पछि हटेसँगै १० वटै समितिको नेतृत्व निर्विरोधरुपमा छानिएको हो।
पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति चयन भएका छन्। अन्य ९ वटा समितिमा आइतबार एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो। प्रतिनिधि सभाले पहिलो बैठक बसेको साढे ७ महिनापछि समितिको नेतृत्व छानिएको हो।
विषयगत समितिको सोमबार अपराह्न बबसेको बैठकमा सभापति निर्विरोधरुपमा चयन भएको घोषणा गरिएको हो। समितिको सभापति चुनिएका १० जनामध्ये पाँच नयाँ र पाँच पुराना अनुहार हुन्।
कांग्रेसका आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन र सन्तोष चालिसे अर्थ समितिको सभापति बनेका छन्।
एमालेका ऋषिकेश पोखरेल लेखा र किरणकुमार साह महिला तथा सामाजिक मामिला समितिको सभापति बनेका छन्। यस्तै माओवादी केन्द्रकी विमला सुवेदी कानुन न्याय तथा मानव अधिकार, राप्रपाका दीपकबहादुर सिंह पूर्वाधार विकास, जनता समाजवादीका राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति छानिएका छन्।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले भागबण्डा गर्दा प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा भने संसदीय समितिको नेतृत्वमा भागविहीन बन्न पुगेको छ।