BIZMANDU
www.bizmandu.com

उखु बेचेको नौ महिना बित्यो, सर्लाहीका किसानले पाएनन् अनुदानको ७० रुपैयाँ

२०८० भदौ १०

उखु बेचेको नौ महिना बित्यो, सर्लाहीका किसानले पाएनन् अनुदानको ७० रुपैयाँ
उखु बेचेको नौ महिना बित्यो, सर्लाहीका किसानले पाएनन् अनुदानको ७० रुपैयाँ

सर्लाही। उखु उत्पादक किसानले सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन्। उखु बेचेको करिब नौ महिना बितिसक्दा पनि सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबापतको रकम अझैसम्म पनि नपाएको बताएका हुन्।

Tata
GBIME
NLIC

सरकारी अनुदानको आशबमा बसेका आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताए। उनका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० निर्धारण गरेको थियो। त्यसमध्ये उद्योगले ५ सय ४० र सरकारले ७० गरी किसानलाई ६ सय १० रुपैयाँ भुक्तानी गर्ने सहमति थियो। हालसम्म पनि सरकारले अनुदानबापतको रकम नदिएको अर्का किसान राम उदगार महतोले बताए। उनका अनुसार उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई ५ सय ४० भुक्तानी गरिसक्दा पनि सरकारले अनुदानबापतको रकम भुक्तानी गरेको छैन।

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली भने चिनी उद्योगले उखु बिक्री गरेको तथ्यांक सरकारलाई उपलब्ध नगराएकाले भुक्तानी ढिलो भएको बताउँछन्। तथ्यांक पठाउन उद्योगलाई ताकेता गरिरहेको उनले बताए।

उनका अनुसार चिनी उद्योगले उखु बिक्री गरेको तथ्यांक कृषि मन्त्रालयलाई पठाएपछि मात्रै अर्थ मन्त्रालयले अनुदानको रकम उखु उत्पादक किसानलाई पठाउने गरेको छ। चिनी उद्योग र सरकारको कमजोरीका कारण जिल्लाका किसानले दुःख पाएका अध्यक्ष मैनालीले बताए।

अनुदानको रकम पठाउन सरकार र उद्योगलाई दबाब दिइरहेको उल्लेख गर्दै उनले असोजको पहिलो हप्तासम्म भुक्तानी पाइने अपेक्षा गरे। सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम समयमा नदिने र उद्योगले पनि किसानको लगानीअनुसारको मूल्यमा उखु खरिद नगर्ने गरेका कारण जिल्लामा पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घट्दै गएको छ।

धान, मकै, गहुँ र तोरीलगायतको उत्पादन खेतबाटै बिक्री हुन्छ। यही मूल्यमा उखुखेती गर्ने हो भने लागत पनि उठ्दैन। उखुको मूल्य प्रतिक्विन्टल ८ सय ५० भन्दामाथि भएमात्र लगानी उठ्ने किसानको भनाइ छ।

सर्लाहीका उद्योगमध्ये हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले सबै उखु उत्पादक किसानको रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल बगदह र अन्नपूर्ण सुगर मिल धनकौलले अझै केही रकम भुक्तानी गर्न बाँकी छ। इन्दुशंकरले क्रसिङ गर्ने समयमा २८ लाख क्विन्टल उखु खरिद गरेको थियो। रासस