BIZMANDU
www.bizmandu.com

कञ्चनपुर-कमला सडक निर्माण म्याद सकिने बेला ३१% मात्र प्रगति, म्याद अक्टोबरसम्म मात्रै

२०८० भदौ १०

कञ्चनपुर-कमला सडक निर्माण म्याद सकिने बेला ३१% मात्र प्रगति, म्याद अक्टोबरसम्म मात्रै
कञ्चनपुर-कमला सडक निर्माण म्याद सकिने बेला ३१% मात्र प्रगति, म्याद अक्टोबरसम्म मात्रै


काठमाडौं। कञ्चनपुर-कमला सडक योजनाको हालसम्मको प्रगति जम्मा ३०.७८ प्रतिशत छ। सडक विभागका अनुसार उक्त सडक विस्तार तथा स्तरोन्नतिको ठेक्काको म्याद आगामी अक्टोबरसम्म मात्र छ।

Tata
GBIME
NLIC

सप्तरीको कञ्चनपुरदेखि सिरहा-धनुषा सीमाको कमलासम्मको पूर्वपश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिको ठेक्का सम्झौता भएको ३ वर्ष भइसकेको छ। तर कामको प्रगति भने आधा पनि पुगेको छैन।

विभागका अनुसार यसको सम्झौता सन् २०२० को अक्टोबरमा भएको थियो। निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले तीव्रता पाउन सकेको छैन। निर्माणका लागि हालसम्म ५ अर्ब खर्च भइसकेको विभागले जनाएको छ। यसको लागत १५ अर्ब ६६ करोड रुपैयाँ छ।

हालसम्म ८७ वटा कल्भर्टहरु निर्माण भएको छ। ४२ वटा मुख्य पुलहरु निर्माणाधीन छन्। कालोपत्रेका लागि २६.५ किलोमिटर सब-बेस गरिएको छ। साथै ६.५ किलोमिटर बेस निर्माण पुरा भएको विभागले जनाएको छ।

यो आयोजनामा अझै ८७ किलोमिटर सडक पुरै कालोपत्रे गर्नुपर्ने छ। साथै २५ वटा कल्भर्ट र ५४ वटा मुख्य पुलहरुको काम बाँकी रहेको विभागले जनाएको छ।

यो सडक निर्माणमा ढिलाइ हुनुमा निर्माण कम्पनीले स्रोत तथा साधन परिचालनमा ढिला गरेको र व्यवस्थापन धेरै कमजोर देखिएको विभागको आरोप छ। विभागले पटकपटक स्मरण गराएको जनाएको छ।

आयोजना दुई वटा खण्डमा निर्माण भइरहेको छ। जसमा पूर्वीमा ३९.४२ किलोमिटर र पश्चिममा ४७.४१ किलोमिटर छ। आयोजनालाई दातृ संस्था एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको हो।  

चालु आर्थिक वर्षका लागि यो आयोजनाको पूर्व खण्डलाई ४ अर्ब ३४ करोड र पश्चिम खण्डलाई ३ अर्ब ८९ करोड रुपैयाँ बजेट छुट्याएको छ।

कमला-कञ्चनपुर सडकका दुई ठेक्का चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कर्पोरेसन लिमिटेड छेन्दुले पाएको छ। चाइना रेलवेले पहिलो खण्ड ७ अर्ब २७ करोड ७६ हजार २ सय ३४ रुपैयाँ ६८ पैसा र दोस्रो खण्ड ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ४८ रुपैयाँ ३६ पैसा ठेक्का पाएको हो।