BIZMANDU
www.bizmandu.com

३० वर्षअघि ४ लाखमा किराना स्टोर खोलेका केदार बने करौडौंका मालिक, व्यवहार डुबेपछि ठगीमा

२०८० भदौ १०

३० वर्षअघि ४ लाखमा किराना स्टोर खोलेका केदार बने करौडौंका मालिक, व्यवहार डुबेपछि ठगीमा
३० वर्षअघि ४ लाखमा किराना स्टोर खोलेका केदार बने करौडौंका मालिक, व्यवहार डुबेपछि ठगीमा


काठमाडौं। केदारनाथ शर्मा ठूला व्यापारीका रुपमा नै चिनिन्छन्। उपकार सेभिङ एन्ड क्रेडिट प्रालिदेखि संचार उद्यमीसम्म बने उनी। उपकार ब्रान्ड तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक समेत रहेका उनले ३० वर्षमा व्यापारमा ठूलो छलाङ मारे। तर आफैंले बनाएको व्यापारको जगलाई बचाएर आफ्नो प्रतिष्ठा भने जोगाउन सकेनन्।

Tata
GBIME
NLIC

सहकारीमा ठगी गरेर उनी फरार भए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई सहकारी ठगीमा भारतबाट पक्राउ गरेर नेपाल ल्याउनु पर्‍यो। गत असार १२ गतेदेखि उनी प्रहरीको हिरासतमा छन्। उनी मात्र होइन सहरकारी ठगी प्रकरणमा उनकी श्रीमती बाँके कोहलपुरकी गीता शर्मा पनि हिरासतमा नै छिन्।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका उनी पूर्व अध्यक्ष हुन्। उनीविरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १४ अर्ब रुपैयाँ घोटाला भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। शिवशिखरका देशभर ३६ वटा शाखाबाट विभिन्न चरणमा ठगी गरेको खुलेको छ। प्रहरीले दुई महिना लामो अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ।

केदार शर्माले २०५२ सालतिर  कोहलपुरमा ढकाल किराना स्टोर संचालन गरेका थिए। करिब ४ लाख रुपैयाँ लगानी गरेर खोलेको स्टोरबाट उनले फड्को मारे। त्यसको ठिक १० वर्षपछि उनले १० गुणा लगानी (४० लाख)मा काठमाडौंको नयाँ बानेश्वरमा ओम शिव स्टोर संचालन गरेका थिए। दुई दशक किराना स्टोरमा बिताएका शर्माको त्यसपछिको बाटो भने सहकारीतिर मोडिएको थियो।

२०६१ देखि २०६५ सालसम्म उपकार सेभिङ एन्ड क्रेडिट प्रालि नयाँ बानेश्वरमा उनी ५ लाख रुपैयाँ सेयर लगानी गरी संचालक समितिको सदस्य भएका थिए। उनले तेजबहादुर तामाङ अध्यक्ष रहेको गोर्खा दीप सेभिङ एन्ड क्रेडिट लि. बागबजारमा उपाध्यक्ष समेत भई काम गरेका थिए। त्यही गोर्खा दीप सेभिङ एन्ड क्रेडिट लि. बागबजारलाई २०६६/६७ सालमा एकीकरण गरी शिखर दीप सेभिङ एन्ड क्रेडिट लिमिटेडको अध्यक्षसमेत भए। सहकारीको बागबजार, कमल विनायक, न्यूरोड, कीर्तिपुर, पाटन मंगलबजार शाखा थियो।

उनले टोबाको इन्डष्ट्रिज खोली संचालनसमेत गरे। कृषि सम्बन्धी काम गर्नका लागि शिवशिखर कृषि सहकारी संस्था संचालनमा ल्याई ८ जिल्लामा बिक्री केन्द्र स्थापना गरे। उनको कम्पनीले ३५ जिल्लाका कृषकहरूलाई कृषि औजारहरू बिक्री गर्‍यो। त्यसपछि व्यवहार बिग्रिँदै गएर सहकारी ठगीमा लागे केदारनाथ शर्मा।

प्रहरीमा उजुरी पर्ने थालेपछि उनी भागेर भारत पुगेका थिए। शर्मा भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेर ल्याएको दाबी गरेको छ। उनलाई मुम्बईबाट लखनउ हुँदै काठमाडौं ल्याइएको हो।

अदालतमा दायर अभियोग पत्रमा काठमाडौंमा रहेका बचतकर्ताको मात्र ७८ करोड १९ लाख ३६ हजार २१४ रुपैयाँ बिगो दाबी गरिएको छ। काठमाडौंमा रहेका २१ हजार ३६९ बचतकर्तामध्ये ११ सय ४५ जनाले जाहेरी दिएका छन्।

प्रहरीले शर्मासहित १९ जनालाई प्रतिवादी बनाएर छ। प्रतिवादी बनाइएकामध्ये १२ जना फरार छन्।