काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीले ४ देश सम्मिलित टी–२० सिरिजको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा नेपालले शनिबार भएको फाइनलमा हङकङलाई १३ रनले हरायो।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसका लागि का यिङ चानले सर्वाधिक २९ र मारिना एन्तोनियाले १९ रन बनाए। शान्जिन शाहजाद १४ रनमा अविजित रहिन्। नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १/१ विकेट लिए।
१०२ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभर मात्रै खेल्न पायो। १ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकियो। इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन जोडेका थिए। पानीका कारण खेल हुन नसकेपछि डकवर्थ लुइस पद्दतिअनुसार नेपाल १३ रनले विजयी भएको हो।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो। अन्तिम खेलमा भने मलेसियासँग नेपालले ६ विकेटको हार बेहोरेको थियो।
नेपालले अब मलेसियामै आईसीसी टी-२० विश्वकप छनोट खेल्नेछ। नेपाल, यूएई, कतार, मलेसिया, भुटान र बहराइनले प्रतिस्पर्धा गर्ने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म हुनेछ।