BIZMANDU
www.bizmandu.com

पेट्रोल इन्जिन कारको माइलेज कसरी बढाउने? यस्ता छन् खर्च घटाउन मद्दत गर्ने टिप्स

२०८० भदौ ९

पेट्रोल इन्जिन कारको माइलेज कसरी बढाउने? यस्ता छन् खर्च घटाउन मद्दत गर्ने टिप्स
पेट्रोल इन्जिन कारको माइलेज कसरी बढाउने? यस्ता छन् खर्च घटाउन मद्दत गर्ने टिप्स

काठमाडौं। इन्धनको मूल्य झन् झन् वृद्धि हुँदै छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नेबित्तिकै हामीकहाँ भाउ बढिहाल्छ। मितव्ययी हुन जरुरी छ। इन्धन खर्च कम गर्नुपर्छ। पेट्रोल इन्जिन कारका प्रयोगकर्ताले माइलेज कसरी बढाउने भन्ने विषयमा जान्न आवश्यक छ।

Tata
GBIME
NLIC

गाडी चलाउँदा इन्धन बचत गर्न सिक्न चाहने धेरै हुन्छन्। यसले फाइदा हुन्छ। माइलेज बढ्दा इन्धनमा हुने खर्च कम हुन्छ। त्यति मात्र होइन, पेट्रोल वा डिजलको खपत कम हुँदा कारको औसत जीवन पनि बढ्छ।

कारको मर्मतले इन्जिनमा कुनै अनावश्यक तनाव छैन भन्ने सुनिश्चित गर्छ। तसर्थ, समय समयमा कारको सर्भिसिङ गरिराख्नु राम्रो हुन्छ। जसले गर्दा कारको कन्डिसन ठिक छ भनेर निश्चित गर्न सकिन्छ।

जाममा धेरै बस्नुपर्ने परिस्थितिमा गाडीलाई स्टार्ट अफ गरेर राख्दा राम्रो हुन्छ। यस्तै भीडभाड भएका सडकलाई बेवास्ता गर्दा राम्रो हुन्छ। ट्राफिक जाम हुने सडकभन्दा करिडोरको सडक हुँदै गाडी चलाउदा राम्रो हुन्छ।

आजकल बजारमा पाइने कारले इन्धन बचत गर्दै छ वा छैन भनेर देखाउन हरियो संकेत प्राप्त छ। यदि गाडीमा यो छैन भने सुस्त गतिमा ड्राइभ गर्दा राम्रो हुन्छ। ओभर स्पिड वा ब्रेक लगाउनबाट जतिसक्दो बच्दा राम्रो हुन्छ।

गाडीलाई जहिले पनि एउटै गतिमा चलाउने कोसिस गर्दा राम्रो हुन्छ। लामो दूरीका यात्रामा गाडीले उत्कृष्ट माइलेज दिन्छ। त्यसको कारण हो, राजमार्गमा एउटै गतिमा ब्रेक धेरै नलगाइ ड्राइभ गर्न सकिन्छ। यसबाट इन्धन खपत कम हुन्छ र माइलेज धेरै दिन्छ।

टायरको प्रेसर नियमित रूपमा जाँच गर्ने

कारको इन्धन दक्षता सुधार गर्ने सबैभन्दा सरल तर सबैभन्दा महत्त्वपूर्ण तरिका भनेको टायरको सही प्रेसर कायम राख्नु हो। हावा कम भएका टायरले कारको रोलिङ प्रतिरोध बढाउन सक्छ। यस्थतो बेला कार चलाउँदा थप इन्धन चाहिन्छ।

त्यसैले टायरको प्रेसर महिनामा एक पटक नियमितरूपमा जाँच्न आवश्‍यक हुन्छ। टायर प्रेसर गेज एक सस्तो उपकरण हो जसबाट जाँच गर्न मद्दत गर्छ।

एग्रेसिभ ड्राइभिङ प्याटर्नमा ध्यान दिने

एग्रेसिभ ड्राइभिङ जस्तै ओभर स्पिड, ब्रेकिङ सिस्टमले कारको माइलेजलाई उल्लेखनीय रूपमा घटाउन सक्छ। जब आक्रामक रूपमा गाडी चलाइन्छ त्यो गति प्राप्त गर्न धेरै इन्धन जरुरी पर्छ।

ओभर स्पिडमा गाडी चलाइरहेका बेला अचानक ब्रेक लगाउँदा त्यही गति अनुसार फ्लो भइरहेको तेलको गति एक्कासी रोकिन पुग्छ। पहिलाको गतिमा फ्लो भइरहेको तेल खेर जान्छ।

नेपालमा एकनासको स्पिडमा गाडी ड्राइभ गर्ने सडक नभएकाले ड्राइभिङ प्याटर्नमा ध्यान दिनु राम्रो हुन्छ। तसर्थ इन्धन-कुशल ड्राइभिङ प्याटर्न अभ्यास गर्न आवश्यक छ। जस्तै सहज र स्थिर गति कायम राख्ने तथा ट्राफिक जाम अनुमान गर्ने गर्नुपर्छ। एग्रेसिभ ड्राइभिङ प्याटर्नमा ध्यान दिए कारको इन्धन दक्षतालाई ४० प्रतिशतसम्म सुधार गर्न सकिन्छ।

क्रूज कन्ट्रोल राजमार्गमा सहयोगी

विशेषगरी राजमार्गमा कारको इन्धन दक्षता सुधार गर्नका लागि क्रूज कन्ट्रोल उत्कृष्ट प्रणाली हो। निरन्तर गति कायम गरेर क्रूज कन्ट्रोलले अनावश्यक गतिको उतारचढावबाट बचाउन मद्दत गर्न सक्छ। जसले कारको इन्धन फ्लोलाई एकनास बनाउँछ र माइलेज धेरै दिन्छ।

यसबाहेक, इन्जिनमा कामको भार घटाएर क्रूज कन्ट्रोलले इन्धन बचत गर्न र कारको कम्पोनेन्टको आयु लम्ब्याउन मद्दत गर्न सक्छ।

तर क्रूज कन्ट्रोललाई बुद्धिमानीपूर्वक प्रयोग गर्नु महत्त्वपूर्ण मानिन्छ। विशेषगरी पहाडी इलाकामा जहाँ बारम्बार गति परिवर्तन गर्न आवश्यक हुन्छ त्यस्तो बेला यो सञ्चालन गर्न सकिंदैन।

ट्राफिक जाममा पनि क्रूज कन्ट्रोल प्रयोग गर्नबाट जोगिंदा राम्रो हुन्छ। जहाँ अचानक रोकिने र गति परिवर्तन सामान्य हुन्छ। सही तरिकाले क्रूज कन्ट्रोल प्रयोगमा कार्बन फुटप्रिन्ट कम गरेर ७ प्रतिशतसम्म कारको इन्धन दक्षता सुधार गर्न सकिन्छ।

कारलाई धेरै भारी नबनाउने

कारको इन्धन दक्षता सुधार गर्ने अर्को तरिका तौल नबढाउनु हो। कारले जति धेरै तौल बोक्छ, त्यसलाई वहन गर्न त्यति धेरै ऊर्जा चाहिन्छ। त्यसका लागि इन्धन धेरै खपत हुन्छ। त्यसैले कारमा अनावश्यक वजन राख्नु हुँदैन। वजन भएका सामान हटाउनुपर्छ।

एसी कम चलाउने

अहिले प्राय सबै कारमा एसी सर्भिस एक सामान्य सुविधा हो। आरामदायक ड्राइभिङका लागि यो आवश्यक पनि छ। तर यसले इन्धन खर्च हुन्छ।

जब कारको एसी अन गरिन्छ यसले इन्जिनमा अतिरिक्त भार थप्छ। यसको मतलव एसी चलाएपछि उही गति कायम राख्न थप इन्धन चाहिन्छ।

अमेरिकी ऊर्जा विभागका अनुसार एयर कन्डिसनरको प्रयोगले गाडीको इन्धनको खर्च २५ प्रतिशतले घटाउन सक्छ। त्यो भनेको कारले सामान्य अवस्थामा औसत एक लिटर पेट्रोलमा २० किलोमिटर माइलेज दिन्छ भने एसी चलाएपछि १५ किलोमिटरभन्दा दिंदैन।

चिसो दिनमा एसीको सट्टा फ्यान-मात्र सेटिङ गरेर चलाउँदा राम्रो हुन्छ। साथै, आफ्नो कारलाई शीतल ठाउँमा पार्किङ गर्नुपर्छ। यसले पार्किङबाट यात्रा सुरु गर्दा एसीको आवश्यकता कम गर्छ। घाममा पार्किङ गर्‍यो भने कारभित्र चिसो बनाउन फुल भोलुममा एसी संचालन गर्नुपर्ने हुन्छ।

राम्रो इन्जिन आयल हाल्ने

इन्धन दक्षता सुधारका लागि इन्जिन आयलको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। धेरैजसो कारमा ग्राहकले म्यानुअलरुपमा मन लगेको इन्जिन आयल हाल्ने गरेका छन्। यसो गर्दा गाडीको इन्जिनले राम्रोसँग काम गर्न छोड्छ। इन्धनको खपत बढाउँछ।

त्यसैले कम्पनीहरुले सिफारिस गरेको आयल हाल्दा इन्जिन राम्रो हुन्छ। सही इन्जिन आयलको ग्रेड प्रयोग गर्नाले इन्जिनमा घर्षण कम गर्छ। यसले इन्धनको खपतमा कमी ल्याउँछ।

यसबाहेक सिंथेटिक तेल छनोट गर्न सकिन्छ। सिंथेटिक तेलले परम्परागत तेललेभन्दा लामो समयसम्म काम गर्छ।

स्तरीय इन्धनको प्रयोग

इन्धनको स्तरले पनि माइलेज भर पर्छ। इन्धनको स्तर कमजोर भयो भने माइलेज पनि कम हुन्छ। त्यति मात्र होइन इन्धन इन्जेक्टरहरूलाई रोक्न सक्छ र माइलेज घटाउँछ। त्यसैले विश्वसनीय पेट्रोल पम्पमा मात्रै इन्धन हाल्नुपर्छ।

झ्याल खुला नराख्दा राम्रो

ताजा हावाको आनन्द गाडीको झ्याल खुला राखेर ड्राइभ गर्ने चलन छ। तर यसले कारको इन्धन दक्षतालाई घटाउँछ। जब झ्याल खोलिन्छ यसले कारमा ड्र्याग सिर्जना गर्छ र इन्जिनलाई गति कायम राख्न गाह्रो बनाउँछ। यसको मतलब इन्जिनलाई समान गति कायम राख्न थप इन्धन चाहिन्छ।

एसएई इन्टरनेस्नलको एक अध्ययन अनुसार झ्याल बन्द चलाउँदा गाडीको इन्धन खर्च ८ प्रतिशतसम्म घटाउन सकिन्छ। उच्च गतिमा गाडी चलाउँदा झ्याल खोल्नुको सट्टा बरु एसी प्रयोग गर्नु राम्रो मानिन्छ।