BIZMANDU
www.bizmandu.com

पर्यटकीय स्थललाई आय ठेक्कामा लगाउँदै अन्नपूर्ण गाउँपालिका, एक करोड बढी आम्दानी

२०८० भदौ ८

पर्यटकीय स्थललाई आय ठेक्कामा लगाउँदै अन्नपूर्ण गाउँपालिका, एक करोड बढी आम्दानी
पर्यटकीय स्थललाई आय ठेक्कामा लगाउँदै अन्नपूर्ण गाउँपालिका, एक करोड बढी आम्दानी


बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत एक करोड ३० लाख रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो।

Tata
GBIME
NLIC

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको छ। अब गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा संचालित होटलबाट व्यवसाय कर संकलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

यस वर्ष अन्नपूर्ण-६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई ६३ लाख ११ हजार रुपैयाँ, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई ५५ लाख ९०० रुपैयाँ र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई २० लाख १९ हजार ५०० रुपैयाँमा आय ठेक्का सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

‘पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट संचालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौं। तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छौं’, उनले भने।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार रुपैयाँ वाहलबटौली कर लिने गरिएको छ। गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ।

चालु आर्थिक वर्षमा एक करोड ४७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुवातमा नै लक्ष्य नजिकको राजस्व संकलन गरिसकेको छ। गत आर्थिक वर्षमा एक करोड ४५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी एक करोड ६१ लाख राजस्व संकलन गरेको थियो।

घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ। गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। रासस