BIZMANDU
www.bizmandu.com

एसिया कप हेर्न जाने नेपाली दर्शकको माग बढ्यो, ‘अन्तर्राष्ट्रिय उडानहरु अहिले खचाखच छ’

२०८० भदौ ७

एसिया कप हेर्न जाने नेपाली दर्शकको माग बढ्यो, ‘अन्तर्राष्ट्रिय उडानहरु अहिले खचाखच छ’
एसिया कप हेर्न जाने नेपाली दर्शकको माग बढ्यो, ‘अन्तर्राष्ट्रिय उडानहरु अहिले खचाखच छ’


काठमाडौं। एसिया कप क्रिकेट नजिकिँदै गर्दा खेल हेर्न पाकिस्तान र श्रीलंका जान नेपाली क्रिकेट समर्थकको माग बढेको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतको प्रतियोगिता हेर्न जाने यात्रुको माग वृद्धि भएसँगै विभिन्‍न वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको व्यवसाय वृद्धि भएको हो।

Tata
GBIME

‘हाइब्रिड मोडल’ अन्तर्गत पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको एसिया कप प्रत्यक्ष हेर्न चाहने दर्शक र प्रतिनिधिको सहभागिताले व्यवसाय वृद्धि हुँदै गएको वायुसेवा कम्पनी र ट्राभल एजेन्सीले जनाएका छन्।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले एसिया कप हेर्न जाने नेपालीको माग उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिए।

‘एसिया कपमा नेपाली टोलीको पनि सहभागिता भएका कारण दर्शकको चहलहपल उल्लेख्य देखिन्छ। अन्तर्राष्ट्रिय उडानहरु अहिले खचाखच नै छ,’ अध्यक्ष थापाले बिजमाण्डूसँग भने, ‘हवाई मार्गसँगै स्थलमार्गबाट पनि नेपाली दर्शकहरु गइरहेका कारण निश्‍चित संख्या आँकलन गर्न बाँकी नै छ।’

नेपालका लागि श्रीलंकन एयरलाइन्सको आधिकारिक जेनरल सेल्स एजेन्ट्स जेनिथ ट्राभलले एसिया कपकै लागि जाने यात्रुको माग उल्लेख्य रहँदै आएको जनाएको छ। एक महिनायता श्रीलंका जाने यात्रुबाट धमाधम बुकिङ आइरहेको कम्पनीका प्रबन्धक दीपक मैनालीले बताए।

Photo: SriLankan Airlines

साताको पाँचवटा उडान गर्दै आएको कम्पनीले एकतर्फी भाडादर ४० हजार र राउण्ड ट्रिप ६६ हजार रुपैयाँ कायम गर्दै आएको उनले जानकारी दिए।

‘एसिया कप नजिकीँदै गर्दा श्रीलंका जानेको माग र ‘इन्‍क्‍वाइरी’ उल्लेख्य रुपमा आइरहेको छ,’ उनले भने, ‘टिकट लिने करिब २ सय जनाले हालसम्म टुर प्याकेज निश्‍चित गरिसकेका छन्।’

श्रीलंकन एयरलाइन्स मात्र नभई भारतीय वायुसेवा कम्पनी एयर इण्डिया र भिस्तारा एयरवेजले पनि नेपालबाट दर्शकहरुलाई श्रीलंकाको यात्रा गराइरहेका छन्। एसिया कप हेर्न जाने यात्रुको मागले उडान अकुपेन्सी वृद्धि हुँदै गएको कम्पनीहरुले जनाएका छन्।

एयर इण्डियाले पछिल्लो समय भारत हुँदै श्रीलंका जाने यात्रु वृद्धि भएसँगै उडान अकुपेन्सी ९० प्रतिशत भन्दा बढी रहेको जनाएको छ।

‘यहाँबाट भारत हुँदै श्रीलंका जाने यात्रुहरु वृद्धि हुन थालेका छन्। प्राय: यात्रु समहुमा जान सुरु गरिसकेका छन्। यस अन्तर्गत नेपाली प्रतिनिधि, दर्शक लगायतको सहभागिता देखिएको छ,’ नेपालका लागि एयर इण्डियाका एक कर्मचारीले भने।

बुधबार पाकिस्तान पुगेको नेपाली क्रिकेट टोली। Photo: PCB

भिस्तारा एयरलाइन्सबाट पनि एसिया कपमा जाने यात्रुबाट इन्‍क्‍वाइरी र बुकिङ उल्लेख्य रुपमा वृद्धि हुँदै आएको नेपालका लागि आधिकारिक जिएसए ट्राभल राइटले जनाएको छ।

‘अहिले काठमाडौं-दिल्ली-मुम्बाइ-श्रीलंका जाने यात्रुको माग उल्लेख्य रहेको छ,’ कम्पनीका सीईओ निरज रिमालले भने, ‘अहिले कनेक्टिङ फ्लाइट अन्तर्गतका यात्रुको माग उल्लेख्य रहेको छ।’

रिमालका अनुसार एक महिनायता कनेक्टिङ फ्लाइट मार्फत श्रीलंका जाने यात्रुको माग वृद्धि भएको छ।

नेपाली ट्राभल एजेन्सीले एक महिनाअगाडिदेखि एसिया कप लक्षित न्यूनतम १ लाख १० हजार रुपैयाँदेखि प्याकेजहरु बिक्री गर्दै आएका छन्। यस अन्तर्गत यात्रुले ४ दिनदेखि हप्तादिन सम्मका प्याकेज खरिद गर्दै आएको ट्राभल एजेन्सीले जनाएका छन्।

कति बिक्दैछ टिकट?

एसिया कपका लागि आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) रहेको छ। बोर्डले टिकेटिङ पार्टनर ‘बुकमी’सँगको सहकार्यमा टिकेटिङ सुरु गरेको हो।

समूह चरणमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग भदौ १३ गते मुल्तान क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। ३० हजार दर्शक क्षमताको उक्त स्टेडियममा नेपालले घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने जनाइएको छ।

पाकिस्तान जानुअघि नेपाली क्रिकेट टोलीलाई बिदाई गरिँदा।

पाकिस्तान र नेपालबीचको खेलका लागि साधारणतर्फ ३१२ नेपाली रुपैयाँबाट सुरु भएर भीआईपीतर्फ २ हजार २३५ रुपैयाँसम्मको टिकट दर निर्धारण गरिएको छ।

नेपालले आफ्नो दोस्रो खेल श्रीलंकामा खेल्दैछ। भदौ १८ मा श्रीलंकाको पल्लेकेले स्टेडियममा नेपालले भारतको सामना गर्नेछ। ३५ हजार क्षमताको यो स्टेडियममा ६ वटा सेक्सन छन्। यसमा १ हजार ३३० नेपाली रुपैयाँदेखि ६ हजार ६५० रुपैयाँसम्मका टिकट दर निर्धारण गरिएको छ।

पाकिस्तान जाने दिन नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले युरोपलगायत विभिन्‍न देशबाट समर्थकहरुले ‘एसिया कपमा आएर समर्थन गर्ने’ भन्दै अभियान सुरु गरिसकेको बताएका थिए।

नेपालबाट पनि एसिया कपमा गएर क्रिकेटका विश्‍वशक्ति भारत र पाकिस्तानविरुद्ध नेपाली टोलीलाई हौस्याउन दर्शकहरु उत्तिकै इच्छुक रहेको उनले जानकारी दिए।

एसीसी एसिया कप खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान पुगिसकेको छ। सन् २०१४ मा क्रिकेट अन्तर्गत टी २० विश्‍वकप खेलपछि सबैभन्दा ठूलो मञ्‍चमा नेपाल पुगेको हो।