BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलबाट एकीकृत कारोबार

२०८० भदौ ५

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलबाट एकीकृत कारोबार
ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलबाट एकीकृत कारोबार


काठमाडौं। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साविक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल एक आपसमा मर्ज भएका छन्। मर्जरपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार औपचारिक रुपमा सुरु भएको छ।

Tata
GBIME
NLIC

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एक कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन्।

हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रुपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको तर्फ जोड दिएका छन्। उनले बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरुलाई आग्रह गरे।

साथै, नियामकीय निकाय धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरु बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए।

ढकालले नियामकीय निकाय धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण गराए।