BIZMANDU
www.bizmandu.com

संसद अवरोधदेखि सम्पत्ति शुद्धीकरणमा राष्ट्रपतिको चासो, ‘सर्वदलीय बैठक एक्टिभिजम देखाउन होइन’

२०८० भदौ ५

संसद अवरोधदेखि सम्पत्ति शुद्धीकरणमा राष्ट्रपतिको चासो, ‘सर्वदलीय बैठक एक्टिभिजम देखाउन होइन’
संसद अवरोधदेखि सम्पत्ति शुद्धीकरणमा राष्ट्रपतिको चासो, ‘सर्वदलीय बैठक एक्टिभिजम देखाउन होइन’

काठमाडौं । राष्ट्रपति निवासमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्‍वानमा बैठक बसिरहेको हो।

Tata
GBIME
Zonsen

प्रमुख प्रतिपक्षी एमालेका कारण संसद अवरोध भइरहँदा राष्ट्रपतिले सक्रियता देखाएका हुन्। आजको बैठकमा राष्ट्रपतिले आफूले बैठक बोलाएर ‘एक्टिभिजम’ देखाउन नखोजेको बताए। राष्ट्र प्रतिको चिन्ताले गर्दा आफूले बैठक बोलाएको उनले बताएका थिए।

‘यो मैले एक्टिभिजम देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्र प्रतिको यो मेरो चिन्ता हो। विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौ भन्ने पनि थियो,’ उनले भने।

संविधानले दिएको जिम्मेवारी पुरा गर्नेबारेमा आफू सधैँ चिन्तित रहेको उनले बैठकमा बताएका थिए। अहिले संविधानमाथि नै खेलबाड भइरहेको आभास आफूलाई भइरहेको पौडेलले बताए।

‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ। यसले गर्दा शक्ति पृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ,’ उनले भने।

राष्ट्रपति पौडेलले संघीयता र लोकतन्त्र र गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण  कानुनहरू बन्न नसकेको भन्दै त्यसकारण चौतर्फी प्रश्न उठिरहेको बताए।

‘सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न सकेको छैन। यतिबेला यो विषय टुंग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन सक्दैन,’ उनले भने।

सम्पत्ति शुद्धीकरणसम्बन्धि कानुन निर्माणको विषयमा पनि राष्ट्रपतिले चासो राखेका थिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन पारित गर्न नसकिए विदेशी लगानी रोकिन सक्ने भन्दै उनले सचेत भएर कानुन बनाउन आग्रहसमेत गरे।

‘नेपाललाई ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति हाम्रो अर्को चिन्ताको विषय हो। त्यसैले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरू यथाशीघ्र पारित गरेर नेपाललाई ब्ल्याक लिस्टमा पर्नबाट जोगाउने पहलकदमी लिनु हामी सबैको साझा दायित्व हो,’ उनले भने।

संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुने उनको टिप्पणी थियो। राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा संवाद गररै समस्या सुल्झाएको भन्दै उनले संसद् गतिरोध पनि संवादबाटै टुंगिने आफू विश्वस्त रहेको बताएका थिए।

‘सर्वत्र चिन्ता प्रकट भैरहेकाबेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ। यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद संचालन हुने छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

पौडेलेल जनताले दिएको जिम्मेवारी पुरा गर्न नसके जनतामा व्यवस्था प्रति नै नैराश्यता उत्पन्न हुन सक्ने भन्दै राजनीतिक दलहरुलाई सचेत रहन आग्रह गरेका थिए।