BIZMANDU
www.bizmandu.com

सोमालियामा टिकटक र टेलिग्राममाथि प्रतिबन्ध, टिकटकरको गुनासो : अब कसरी कमाएर खाने?

२०८० भदौ ५

सोमालियामा टिकटक र टेलिग्राममाथि प्रतिबन्ध, टिकटकरको गुनासो : अब कसरी कमाएर खाने?
Photo : Reuters


सोमालियाले भिडियो प्लेटफर्म टिकटक र मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ। यस्तै, अनलाइन बेटिङ वेबसाइट वान एक्स बेट संचालनमा समेत रोक लगाइएको त्यहाँको संचार मन्त्रालयले जनाएको छ।

Tata
GBIME
NLIC

टिकटक र टेलिग्रामबाट फैलिरहेको विचलित पार्ने सामाग्री र देशविरुद्ध भइरहेको प्रोपागान्डा रोक्न सोमालिया सरकारले यो निर्णय गरेको हो। यो निर्णय कार्यान्वयन गर्न सरकारले अगस्त २४ सम्मको समय दिएको छ।

बेटिङ साइट वान एक्स बेट सोमालियामा विशेषगरी फुटबल खेलमा सट्टेबाजीका लागि चर्चित छ। बेटिङबाट धेरै रकम बाहिरिँदा सरकारले हस्तक्षेप गरेको हो।  

सोमालियाका संचार मन्त्री जमा हसन खालिफले एपहरुबाट आतंकवादी र अनैतिक समूहहरुले विचलित पार्ने तस्विरका साथै मिथ्या सूचना प्रवाह गरिरहेकोले बन्द गर्न निर्देशन दिइएको बताए। सशस्त्र समूह अल-सबाबले आफ्ना क्रियाकलापहरुको तस्विर र अन्य सामाग्री टिकटक र टेलिग्राममार्फत सार्वजनिक गर्ने गरेका छन्। सोमालियाका राष्ट्रपति हसन शेख महोम्मदले अलकाइदासँग आबद्ध अल-सबाबलाई पाँच महिना भित्र समाप्त पर्ने चेतावनी दिएको केहीदिन पछि सरकारले यो घोषणा गरेको हो।

टिकटकले सोमालिया सरकारको यो निर्णयको बारे केही टिप्पणी गरेको छैन। टेलिग्रामले भने आफूहरुले प्लेटफर्मबाट आतंकवादी समूहको प्रोपागान्डा नियमित रुपमा हटाइरहेको जनाएको छ।

टिकटक कन्टेन्ट क्रिएटरको आपत्ति

सरकारको यो निर्णयको समर्थन भइरहँदा टिकटक कन्टेन्ट बनाएर पैसा कमाइरहेकाहरुले भने विरोध जनाएका छन्। टिकटकबारे आयआजर्न गरिरहेकाहरुले ‘अब कसरी कमाएर खाने?’ भन्दै सरकारलाई निर्णय सच्याउन आग्रह गरेको छ।

आफूलाई सोमालियाको ‘टिकटक प्रेसिडेन्ट’ भनेर चिनाउने अलि मोहमदले भने, ‘टिकटकमाथिको प्रतिबन्धले धेरैको घर संचालनमा असर पर्नेछ। हामीले दैनिक खानाका लागि कहाँबाट कमाउने?’

टिकटक भिडियो बनाएर सुन बिक्री गर्ने गरेका हलिमो हसन पनि सरकारको निर्णयबाट खुसी छैनन्। आतंकावादलाई रोक्न लिइएको कदमको विरोध नगरे पनि सर्वसाधरणका लागि मात्रै भए पनि टिकटक संचालन गर्न उनले सरकारसमक्ष आग्रह गरेका छन्।