BIZMANDU
www.bizmandu.com

द्वेषभाव फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन उद्योग संगठन मोरङको माग

२०८० भदौ ४

द्वेषभाव फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन उद्योग संगठन मोरङको माग
द्वेषभाव फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन उद्योग संगठन मोरङको माग


विराटनगर। केही समययता मारवाडी समुदायलाई लक्षित गरेर निराधार आरोप लगाउँदै भ्रामक र कपोलकल्पित विचार फैलाइरहेका व्यक्ति र समूहलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन उद्योग संगठन मोरङले माग गरेको छ।

Tata
GBIME
NLIC

संगठनले आइतबार विज्ञप्ति प्रकाशित गर्दै गलत कार्य गर्ने जो कोही र जुनसुकै समुदाय वा वर्गको भए पनि दण्डित हुनुपर्ने जिकिर गर्दै गलत अभिव्यक्ति दिएर द्वेषभाव फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो। संगठनले कोही कसैले गलत गर्‍यो भनेर अनुमान गरेका भरमा पूरै समुदायलाई लक्षित गरी दुष्प्रचार र बदनाम गर्ने कार्य भइरहेको जनाएको छ।

संगठनले केही व्यक्तिले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्नेजस्ता गैरजिम्मेवार र समाजमा द्वेष फैलाउने अभिव्यक्ति दिइरहँदा पनि राज्यले यस्तो क्रियाकलाप नरोकेको आरोप लगाएको छ।

विज्ञप्तिमा केही व्यक्तिले सञ्चारमाध्यममार्फत् सामाजिक सद्भावमा खलल पुर्याउने गरी अभिव्यक्ति दिइरहँदासमेत राज्यले यस्तो क्रियाकलाप रोक्न कुनै पहल नगरेको भन्दै यसलाई दुःखद र खेदजनक भनिएको छ। संगठनले मारवाडी समुदायले मुलुकको आर्थिक एवम् सामाजिक विकासमा सदियौँदेखि अतुलनीय योगदान गर्दै आएको जिकिर गरेको छ।

‘मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भीर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, निजी क्षेत्र तथा आम सर्वसाधारणसमेत आर्थिक अवस्थाको सुधारका लागि एक ढिक्का भई लाग्नु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अवस्थामा यस्तो सामूहिक प्रयास गर्नुको सट्टा कुनै समुदायविशेषलाई लक्षित गरेर दोषारोपण गर्नाले औद्योगिक-व्यावसायिक वातावरण मात्र होइन सामाजिक सद्‍भावमा समेत गम्भीर खलल पुग्ने देखिन्छ ।’

संगठनले नेपालको संविधान २०७२ ले सबै नेपाली नागरिकलाई स्वतन्त्र रूपमा बाँच्ने तथा उद्योग–व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सबै नागरिकलाई समान रूपमा व्यवहार गरेको भए पनि पछिल्ला दिनमा मुलुकको बिग्रँदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समुदायलाई लक्षित गरी अपमानजनक र अमर्यादित टीकाटिप्पणीप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’