BIZMANDU
www.bizmandu.com

दरबारमार्गमा रैथाने उत्पादनको हाटबजार, पाइन्छ हुम्लाको सिलाजितदेखि रसुवाको निहुरोसम्म

२०८० भदौ २

दरबारमार्गमा रैथाने उत्पादनको हाटबजार, पाइन्छ हुम्लाको सिलाजितदेखि रसुवाको निहुरोसम्म
Local food market-orient cafe-bizmandu


काठमाडौं। नेपाली रैथाने कृषि उपजको प्रवर्द्धनका लागि काठमाडौंको दरबारमार्गमा हाटबजार लागेको छ। रैथाने एग्री प्रडक्टस् नेपालले ५० भन्दा बढी जिल्लाका किसानलाई हाटबजारमा सहभागी गराएको हो।

Tata
GBIME
NLIC

दरबारमार्गको ओरियन्ट क्याफेमा लागेको हाटबजारमा रैथाने कृषि उपज किन्न उपभोक्ताको घुइँचो लगेको छ। हाटबजारमा हुम्लाको सिलाजितदेखि रसुवाको निहुरोसम्म पाइन्छ। ललितपुरमा बनेका थरी थरीका अचार पनि बजारमा उपलब्ध छन्।

चन्द्रागिरीकी रक्षा पौडेलले माछा, चिकेन, मुला लगायतका २० भन्दा बढी प्रकारका अचार बिक्रीमा राखेकी छन्।

रैथाने गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन पनि किसानले हाटबजारमा राखेका छन्।

उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क होस् भन्ने प्रयोजनले हाटबजार सञ्चालन गरिएको रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले बताए।

हाटबजार शनिबार बिहान ६ देखि अपराह्न १२ बजेसम्म चल्ने गरेको छ। किसानलाई ओरियन्ट क्याफेले २ वर्षसम्मका लागि ठाउँ नि:शुल्क उपलब्ध गराइदिएको हो।