BIZMANDU
www.bizmandu.com

मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईको अभिव्यक्तिप्रति वीरगंज उद्योग वाणिज्य संघको आपत्ति

२०८० भदौ २

मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईको अभिव्यक्तिप्रति वीरगंज उद्योग वाणिज्य संघको आपत्ति
मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईको अभिव्यक्तिप्रति वीरगंज उद्योग वाणिज्य संघको आपत्ति

काठमाडौं। मारवाडी समुदाय लक्षित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्तिप्रति वीरगंज उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ। प्रसाईको अभिव्यक्तिलाई अवाञ्छित र गैरजिम्मेवार भन्दै संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ।

Tata
GBIME
NLIC

गत साता एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रसाईले देशमा ‘मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका अभिव्यक्ति दिएका थिए।

संघले एक विज्ञप्तिमार्फत कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक, अनर्गल, आधारहीन एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई नदिएको संमरण गराएको छ।

‘एउटै विषय एउटै कुरा पटक-पटक विभिन्‍न सञ्‍चारमाध्यममार्फत् प्रस्तुत गर्ने र मारवाडीले सबै सिध्यायो भन्‍ने अर्थहीन तथा बेतुकका कुरा गरेर सामाजिक सद्‍भावलाई बिथोल्न खोज्‍ने स्वनामधन्य व्यापारी दुर्गा प्रसाईलाई यसै विज्ञप्तिमार्फत् अवाञ्छित वक्तव्यवाजी नगर्न सचेत गराउन चाहन्छौँ,’ संघको विज्ञप्तिमा भनिएको छ।

देशको समुन्‍नति र सामाजिक सद्‍भाव तथा जातीय एकतालाई सुदृढ बनाउन आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बेलामा यस्ता नकारात्मक भाव फैलाउने, कुनै निश्‍चित वर्ग वा समुदायलाई होच्याउने, गिज्याउने कार्य कोही कसैबाट हुन नहुने संघको भनाइ छ। यस्ता अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गरिनु पर्नेतर्फ पनि संघले ध्यानाकर्षण गराएको छ।