BIZMANDU
www.bizmandu.com

गण्डकी प्रदेश सरकारको तालिम प्रतिष्ठान कोरियाले बनाइदिने, लागत १ अर्ब ३३ करोड

२०८० भदौ १

गण्डकी प्रदेश सरकारको तालिम प्रतिष्ठान कोरियाले बनाइदिने, लागत १ अर्ब ३३ करोड
गण्डकी प्रदेश सरकारको तालिम प्रतिष्ठान कोरियाले बनाइदिने, लागत १ अर्ब ३३ करोड


काठमाडौं। गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको भवन कोरिया सरकारले बनाइदिने भएको छ। कोरियन सरकारले १ अर्ब ३३ करोड रुपैयाँ लगानीमा भवन लगायत संरचना बनाइदिने तय भएको प्रतिष्ठानका प्रशासन अधिकृत निलकण्ठ ढकालले जानकारी दिए। पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने छैन।

Tata
GBIME
NLIC

प्रदेश सरकारले २०७७ असारमा प्रतिष्ठान स्थापना गरेको थियो। अहिले प्रतिष्ठानको विस्तृत अध्यन प्रतिवेदन (डीपीआर) बनाउने र वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ। ईआरएमसी- पिकासो-माला जेभीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि शुक्रबार क्षेत्र निर्धारण गरेको छ।

अधिकृत ढकालका अनुसार प्रतिष्ठानको पूर्वाधार बनाउन आगामी डिसेम्बरमा प्रदेश सरकार र कोरिया सरकारबीच सम्झौता गर्ने तयारी छ। सम्झौताको ४ वर्षमा प्रतिष्ठान सञ्चालनमा ल्याउने योजना छ। यसमा सरकारले जग्गा भोगचलन गर्न मात्र दिने सहमति भएको उनले बताए।

स्याङ्जाको फेदीखोला गाउँपालिका-१ गुर्धुममा प्रतिष्ठानका पूर्वाधार बनाइनेछन्। यसका लागि करिब १६० रोपनी जग्गा केन्द्र सरकारले दिइसकेको छ। त्यहाँ अहिले सडक छैन। २ किलोमिटर पहुँच सडक पनि बनाइनेछ।

२२ वटा भवन निर्माणको योजना छ। फुटबल मैदान, बास्केटबल कोर्टलगायत संरचना पनि बनाउने भनिएको छ। निर्माणपछि ११ वटा विषयमा छोटो र लामो अवधिका तालीम सञ्चालनको योजना रहेको ढकालले बताए।

कोरिया सरकारले यसअघि बुटवलको तामनगरमा बहुप्राविधिक शिक्षालय निर्माण गरिदिएको थियो। त्यो कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका नाममा सञ्चालनमा छ।