BIZMANDU
www.bizmandu.com

मारवाडी व्यवसायीप्रति शृंखलाबद्ध आक्रमणविरुद्ध एक ठाउँमा उद्योगी, ‘गम्भीर चिन्ताको विषय’


मारवाडी व्यवसायीप्रति शृंखलाबद्ध आक्रमणविरुद्ध एक ठाउँमा उद्योगी, ‘गम्भीर चिन्ताको विषय’
मारवाडी व्यवसायीप्रति शृंखलाबद्ध आक्रमणविरुद्ध एक ठाउँमा उद्योगी, ‘गम्भीर चिन्ताको विषय’


विराटनगर। मारवाडी व्यवसायीलाई लक्षित गरेर शृंखलाबद्ध आक्रमणको प्रयास हुनु दुःखद् भएको उद्योगी व्यवसायी बताउँछन्। उनीहरुले केही समययता जात, वर्ग र समूह छुट्याएर भएको आक्रमण चिन्ताको विषय भएको बताएका छन्।

Tata
GBIME

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योति जातीय हिसाबमा कुरा गर्नु त परै जाओस् सोच्नु र मनमनै विश्लेषण पनि गर्नु नहुने धारणा व्यक्त गर्छन्।

‘म अहिलै कुनै पनि संघसंस्थामा सक्रिय छैन त्यसैले धेरै कुरा मलाई थाहा हुँदैनन्,’ उनले बिजमाण्डूसँग भने, ‘मैले थाहा पाउने भनेको तपाईंहरूकै संचारमाध्यम हेरेर हो। केही समययता व्यवसायीमा पनि जात, वर्ग र समूह छुट्याएको देखिँदैछ। भविष्यका लागि यो गम्भीर चिन्ताको विषय हो। यसको गन्तव्य सुखद हुँदैन।’

वरिष्ठ उद्यमी ज्योतिले देश सबैको साझा हो र हरेक नागरिकको बराबर अधिकार रहेको कुरालाई हरेक नेपालीले स्वीकार गर्नुपर्ने उल्लेख गर्दै जातीय आधारमा कसैप्रति पनि नकारात्मक टिप्पणी नगर्न अनुरोध गरे। उनले दुई चार उद्योगीव्यवसायी दोषी भए भन्दैमा सबैलाई लाञ्छित गर्ने र त्यसमा पनि जात र वर्गविशेषलाई लक्षित गर्ने प्रवृत्ति बढेको टिप्पणी गरे।

उनको भनाइ छ, ‘त्यसै पनि असुरक्षाको त्रास खपिरहेका व्यवसायीहरू यस्ता क्रियाकलापबाट अझ भयको अनुभूति गरिरहेका छन्। उनीहरूको मनोबल खस्किएको छ। जहाँ उद्योगी व्यवसायीकै मनोबल खस्किएको हुन्छ अनि उनीहरूले असुरक्षाको अनुभूति गरेका हुन्छन्, त्यस्तो मुलुकले कसरी समृद्धि हासिल गर्नसक्छ ?’

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्य र कानुनका दृष्टिमा हरेक नेपाली बराबर हुँदाहुँदै पनि केही व्यक्ति र समूहले मारवाडी समुदायको नाम नै लिएर गलत टिप्पणी गरिरहेको बताए।

‘अहिले कसैका विरोधमा बोल्यो कि, त्यो भाइरल भइहाल्छ,’ अध्यक्ष रिजालको भनाइ थियो, ‘अनि भाइरल हुने इच्छाले गैरजिम्मेवार ढंगका भनाइ र टिप्पणीहरू बाहिर आइरहेका छन्। समाजमा यसरी विद्वेष फैलाउने तत्वलाई सरकारले कुनै कारबाही गर्न सकेको छैन। यो अर्को दुःखद प्रसंग हो।’

रिजालले नेपालमा नेवार र मारवाडी समुदायले नै उद्योग–व्यवसायको विस्तार गर्ने कार्यको नेतृत्व गरेको बताए। उनले नेवार र मारवाडी समुदायको नेतृत्वदायी भूमिका पहिलेदेखि अहिलेसम्म रहेको चर्चा गर्दै यस्तो नेतृत्वदायी समुदायप्रति जथाभावी र मनगढन्ते कुरा सार्वजनिक रूपमा बोलेर आक्षेप लगाउनु नागरिक सभ्यताविरुद्ध भएको बताए।

‘नेपाल राष्ट्रका अहिलेका नागरिकका पितापुर्खा कोही कता र कोही कताबाट आए होलान्, मेरै पुर्खा पनि अर्कै देशबाट आए होलान्’, उनको प्रश्न थियो, ‘त्यो एउटा ऐतिहासिक र खास प्रकारको परिस्थिति थियो। अब त्यसैलाई कोट्याएर बद्ख्वाइँ गरिरहनु मानवीय मूल्यका विपरीत हुन्छ। अमेरिकामा २१७ राष्ट्रका नागरिक अटाउँदा उसको राष्ट्रियता नबिग्रने, हाम्रो मुलुकमा २ देशका नागरिकले राष्ट्रियता खल्बलियो भन्ने ? के हाम्रो मुलुकको राष्ट्रियता यति कमजोर छ र ?’

उनले केही समययता मारवाडी समुदायलाई होच्याएर अनि उनीहरूका पितापुर्खाका बारेमा अनर्गल कुराहरू सामाजिक सञ्जालमा ल्याएर एउटा जातिविशेषलाई नै सिध्याउने हिसाबले प्रपञ्च भइरहेको बताए। रिजालले भने, ‘सुन्दा कसैलाई मनोरञ्जन होला, कसैलाई आनन्द लाग्ला तर यसले दिने परिणाम भयावह हुन्छ।’

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले देशको अर्थतन्त्र, रोजगारी र जीडीपीमा ७० प्रतिशतभन्दा बढीको योगदान गर्ने निजी क्षेत्र अप्ठ्यारोमा परेर पलायन र आत्महत्याको बाटो रोजिरहँदा उल्टै गालीगलौज, मानमर्दन र अपमान सहनुपरिरहेको गुनासो गरे।

अध्यक्ष श्रेष्ठले कुनै पनि जात, वर्ग र समुदायका एक–दुई व्यवसायी दोषी भए होला तर तिनका घानमा सबैलाई पार्नु नहुने आग्रह गरे। व्यवसायी श्रेष्ठले देशका नेता पनि सबै दोषी नभएको तर सबै नेतालाई हेर्ने दृष्टिकोण एउटै भएको चर्चा गर्दै उद्योगी–व्यवसायी पनि यस्तै दृष्टिकोणको सिकार भइरहेको दुखेसो गरे।

उनले मारवाडी समुदायले मुलुकको औद्योगिकीकरण र व्यावसायिक उन्नतिका लागि प्रशस्त योगदान गर्दै आएको बताए।
उनको कथन थियो, ‘यस्तो समुदायलाई सम्मान दिनुपर्नेमा उल्टै अपमानित गरेर हाम्रा दाजुभाइहरूले राम्रो गर्नुभएन। एकआपसमा द्वेष फैलाउने काम गर्नु कसैका लागि शुभ हुँदैन।’

सिद्धार्थ नगर उद्योगवाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मारवाडी, मधेसी, मुस्लिम, पहाडी, नेवार जे भनेपनि व्यापारी भएको बताउँदै कानुनभित्र रहेर कर तिरेकालाई भेदभाव गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा हुने–नहुने कुरा राखेर मारवाडी व्यवसायीको उछित्तो काढ्नु शोभनीय नभएको टिप्पणी गरे। भिडले निर्णय गर्ने र भिडले नै विचार निर्माण गर्ने हो भने मुलुक कता पुग्ला भन्दै उनले चिन्ता व्यक्त गरे।

‘दुःखको कुरा, व्यवसायीका पक्षमा बोलिदिने र गरिदिने कोही भएनन्’, उनले भने, ‘अरू क्षेत्र ध्वस्त हुँदा सरकारले बचाउँछ तर व्यवसाय ध्वस्त हुँदा केही गर्दैन। यस्तो संगिन अवस्थामा पनि खास समुदायका व्यवसायीप्रति नानाथरी कुरा बोलेर दुष्प्रचार गरिनु खेदजनक छ। यस्तो कार्यले सभ्य नेपाली समाजलाई गिज्याएको छ।’