BIZMANDU
www.bizmandu.com

अध्ययनले भन्यो : १० प्रतिशत धनी अमेरिकीका कारण ४० प्रतिशतले बढ्दै जलवायु प्रदूषणको असर

२०८० भदौ १

अध्ययनले भन्यो : १० प्रतिशत धनी अमेरिकीका कारण ४० प्रतिशतले बढ्दै जलवायु प्रदूषणको असर
Photo : Reuters


अमेरिकाका धनाढ्य व्यक्तिहरुका कारण जलवायु परिवर्तनको असर बढेको एक अध्ययनले देखाएको छ। पीएलओएस क्लाइमेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकाका १० प्रतिशत धनी व्यक्तिका कारण अमेरिकामा तापक्रम वृद्धिसँगै जलवायु प्रदूषण बढेको उल्लेख गरिएको हो।

Tata
GBIME
NLIC

हाल विश्वभरका ठूला कम्पनीले ‘ग्रीन इकोनमी’ लाई प्राथमकिता दिने र कार्बन उत्सर्जन घटाउने बताउँदै आइरहेका छन्। तर पूर्ण रुपमा कम्पनीहरुले ती प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। जसकारण विश्वभर जलवायु परिवर्तनको असर देख्न सुरु भइसकेको छ। यो वर्षको जुन महिना पृथ्वीमा हालसम्मकै गर्मी महिना रेकर्ड भएको थियो।

अमेरिकालाई आधार बनाएर गरिएको अध्ययनका क्रममा अमेरिकी कम्पनीहरुले विगत ३० वर्षदेखि गर्दै आइरहेको कार्बन प्रदूषणको तथ्यांक विश्लेषण गरिएको थियो। सो अध्ययनले अमेरिकाका १० प्रतिशत धनी व्यक्तिहरुले औसत नागरिक भन्दा ४० प्रतिशत प्रदूषण र तापक्रमण वृद्धि गर्न सहयोग गरेको दाबी गरिएको छ।

०.१ प्रतिशत अमेरिकीहरुले धेरै मात्रामा कार्बन उत्सर्जन गरिरहेको समेत रिपोर्टमा उल्लेख छ। फाइनान्स, इन्सुरेन्स र खानीसँग सम्बन्धित उद्योगले वर्षमा ३ हजार टन कार्बन उत्सर्जन गरिरहेको पाइएको छ।

गत वर्ष अक्समाफले प्रकाशित गरेको प्रतिवेदनमा विश्वका १० प्रतिशत धनाढ्यका कारण प्रदूषण पनि बढेको उल्लेख थियो।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अधिकांश महादेशमा भारी वर्षा, खडेरी, तापक्रम वृद्धि लगायतका विपद् देखिएका छन्।

बढ्दो तापक्रमा वृद्धिलाई लक्षित गर्दै केही साता अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पृथ्वी अहिले ‘ग्लोबल ब्वइलिङ’को युगमा प्रवेश गरेको बताएका थिए।

‘जलवायु परिवर्तन डरलाग्दो छ। र, यो केवल सुरुवात हो। ग्लोबल वार्मिङको युग समाप्त भएको छ, पृथ्वी अहिले ग्लोबल ब्वइलिङको युग आइपुगेको छ,’ उनले भनेका थिए।