BIZMANDU
www.bizmandu.com

अरनिको राजमार्गमा दुर्घटना बढ्दै, सडक विस्तारमा सुरक्षित तरिका अपनाउन प्रशासनको निर्देशन

२०८० भदौ १

अरनिको राजमार्गमा दुर्घटना बढ्दै, सडक विस्तारमा सुरक्षित तरिका अपनाउन प्रशासनको निर्देशन
अरनिको राजमार्गमा दुर्घटना बढ्दै, सडक विस्तारमा सुरक्षित तरिका अपनाउन प्रशासनको निर्देशन

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य तीव्र गतिमा भइरहेको छ। तर विस्तार कार्यसँगै दुर्घटना पनि बढेपछि सुरक्षित तरिकाले काम गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

Tata
GBIME

राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत गत साउन ३० गते भैंसेपाटी सडकखण्डमा धुलिखेल-८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो।

दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनीट्रकसित ठोक्किएका थिए। लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि प्रशासनले दुर्घटना हुन नदिन सुरक्षित तरिकाले काम गर्न निर्देशन दिएको हो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल १५.५ किलोमिटर सडकखण्ड सँगै धुलिखेल-सिन्धुली-बर्दिबास सडक चार लेन बनाउने काम भइरहेको छ।

उक्त आयोजनाका इन्जिनियर जंगबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको बताए।

‘सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौं,’ उनले भने।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो।

राजमार्गअन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म ८.४ किमि सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड ७.५ किमि विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइ काम सुरु भएको हो।