BIZMANDU
www.bizmandu.com

एमसीसीले ४०० केभी प्रसारण लाइनका लागि मकवानपुरमा जग्गा अधिग्रहण गर्दै, संरचना बनाउन रोक

२०८० भदौ १

एमसीसीले ४०० केभी प्रसारण लाइनका लागि मकवानपुरमा जग्गा अधिग्रहण गर्दै, संरचना बनाउन रोक
एमसीसीले ४०० केभी प्रसारण लाइनका लागि मकवानपुरमा जग्गा अधिग्रहण गर्दै, संरचना बनाउन रोक

काठमाडौं। ४०० केभी प्रसारणलाइन निर्माणका लागि मिलेनियम च्यालेन्ज अकाउन्ट, नेपाल (एमसीए-नेपाल)ले मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकाल्दै आयोजनाको सिमांकन पर्ने जग्गा, घर टहरा, गोठ, कटेरा, रुखविरुवासमेत स्थायी रूपले अधिग्रहण गर्न लागेको उल्लेख गरेको छ। जग्गाधनीलाई २१ दिनभित्र रीतपूर्वक निवेदन दिन आग्रह गरिएको छ। जग्गा अधिग्रहण गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक ७ दिनभित्र गृह मन्त्रालयमा उजुरी दिन सकिने छ।

अधिग्रहण हुने जग्गामा कुनै संरचना थप्ने कार्य नगर्न/नगराउन अनुरोध गरिएको छ। अधिग्रहण हुने जग्गाहरु रोक्का राखिएको छ।

थाहा नगरपालिका-८, कैलाश गाउँपालिका-६,५, ३,४, राक्सिराङ गाउँपालिका-१, हेटौंडा उपमहानगरपालिका-१९ मा पर्ने जग्गा अधिग्रहण गर्न लागिएको हो।

एमसीए-नेपालले यससअघि सिन्धुपाल्चोक, चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व),पाल्पाको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरिसकेको छ।

एमसीसी कम्प्याक्टअन्तर्गत निर्माण हुने आयोजना भदौ १४ गतेदेखि निर्माणमा लैजाने तयारी भएको छ। निर्माण थालेको ५ वर्षमा कम्प्याक्टको काम पूरा गर्नुपर्छ।

एमसीसीअन्तर्गत ७१ किलोमिटर सडक विस्तार र ४०० केभीको ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइनका लागि १० जिल्लामा जग्गा अधिग्रहण गर्नुपर्ने छ। ९ जिल्लामा मुआब्जा निर्धारण समितिको बैठकपछि जग्गा अधिग्रहणका लागि प्रारम्भिक सूचना जारी भएको एमसीए-नेपालले बिजमाण्डूलाई दिएको लिखित जवाफमा उल्लेख छ।

यो प्रसारणलाइन काठमाडौं-सिन्धुपाल्चोक-नुवाकोट-धादिङ- मकवानपुर-चितवन-तनहुँ-पाल्पा -नवलपुर-परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारण लाइनले ३ हजार मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्छ।