काठमाडौं। विद्युतीय गाडी उत्पादन गर्ने भियतनामको भिनफास्टको बजार मूल्य फोर्ड र जनरल मोटर्स (जीएम)को भन्दा धेरै पुगेको छ।
भिनफास्टको सेयर मूल्य पहिलो दिन नै फोर्ड र जीएमको भन्दा माथि गएको हो। नाफा कमाउन बाँकी कम्पनीको प्रतिकित्ता सेयर मूल्य न्यूयोर्कमा डेब्यु दिनमै बढेर ३७ डलर पुगेको छ। सेयर बजारमा भिनफास्टको मूल्यांकन ८५ अर्ब अमेरिकी डलर बराबर भएको छ।
फोर्डको ४८ अर्ब र जीएमको ४६ अर्ब अमेरिकी डलर मूल्यांकन छ। फोर्ड र जिएम पुराना स्थापित ब्रान्ड हुन्। तर भिनफास्ट नयाँ स्टार्टअप इभी निर्माता हो।
भिनफास्टले यो वर्ष छ महिनामा ११ हजार ३०० वटा गाडी बिक्री गरेको छ। टेस्लाले सोही अवधिमा ८ लाख ८९ हजार वटा बेचेको तथ्याैक छ।
भिनफास्टका संस्थापक एवं अध्यक्ष फाम न्हाट वुङको सम्पत्ति करीब ३९ अर्ब अमेरिकी डलर बढेको छ। उनी भियतनामका सबैभन्दा धनी व्यक्ति हुन्।भिनफास्टमा वुङको लगानी रहेका फर्महरुको सेयर धेरै छ। त्यसैले सेयर मूल्य बढाइएको पनि आशंका छ।