काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले हकप्रद सेयर भदौ १८ गतेदेखि बिक्री गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निस्कासन गर्न लागेको हो।
जसअनुसार प्रत्येक सेयरधनीले आफूसँग भएको संख्यामै हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
माथिल्लो तामाकोशीले हकप्रद सेयरबाट १० अर्ब ५९ करोड रुपैयाँ उठाउन लागेको हो। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
तामाकोशीले हकप्रद विक्रीबाट आएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग गर्नेछ। नेपाल विद्युत प्राधिकरणको २ अर्ब, नबिल बैंकको २ अर्ब र एचआइडीसीएलको २ अर्ब रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ। यस्तै रिटेन्सन मनीको १ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गर्नेछ।
बाँकी ३ अर्ब ४५ करोड रुपैयाँ सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्नेछ। तर रोल्वालिङ निर्माणका लागि करीब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।