काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति नबन्दाको फाइदा सय केजी भनिएको सुन ६१ केजीमा झरेको दाबी गरेका छन्।
पार्टीको उद्योग विभागले काठमाडौं र्याडिसन होटलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘निष्पक्ष आयोग बन्न नदिएर एक क्विन्टल सुन ६१ किलोमा झरिसक्यो।’
साउन ३ गते राजश्व अनुसन्धान विभागले विमानस्थलबाट पार भइसकेको सुन सिनामंगलबाट बरामद गरेको थियो। यो सुन सुरुमा सय किलो भनिएपनि टक्सार विभागले गालेर जोख्दा करिब ६१ केजीमात्र भएको छ।
एमालेले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै सदन अवरोध जारी राखेको छ। यता सत्ता गठबन्धनले भने समिति नबनाउने र सरकारी संयन्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमै भर पर्ने निचोड निकालिसकेको छ।
अध्यक्ष ओलीले कांग्रेस सांसदलाई पक्रेर सरकारले दुनियाँलाई तर्साउन खोजेको आरोपसमेत लगाए। ‘सुनिल शर्मालाई बिना पक्राउ पूर्जी पक्राउ गरेको छ। सरकारले यसो चाखिहेरेको। समाजलाई नै टोक्छ यसले। कसले कसलाई तर्साउने? एउटा गठबन्धनको सांसदलाई समातेर दुनियाँलाई तर्साउन खोज्यो। नाङ्लो ठटाएर हात्ती तर्साएको हो,’ ओलीले भने।