BIZMANDU
www.bizmandu.com

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा, आधारभूत तलबको ९.३७% रकम सरकारले दिने

२०८० साउन ३१

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा,  आधारभूत तलबको ९.३७% रकम सरकारले दिने
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा, आधारभूत तलबको ९.३७% रकम सरकारले दिने


काठमाडौं। अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न सुरु गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार एक समारोहबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरे।

Tata
GBIME
NLIC

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गरेर कोषमा आवद्ध हुन सक्ने सामाजिक सुरक्षा कोषले जनाएको छ। सरकारले औद्योगिक श्रमिकका लागि तोकेको आधारभूत पारिश्रमिक ९ हजार ३८५ लाई आधार मान्दा त्यसको २१.३७ प्रतिशत हुन आउने २ हजार २ रुपैयाँ हुन्छ। तर

अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम तिरे पुग्छ। बाँकी ९.३७ प्रतिशत रकम सरकारले थप गरिदिने व्यवस्था गरिएको छ। रोजगारदाता निश्चित नभएका कृषि, निर्माण लगायत क्षेत्रका श्रमिकलाई अनौपचारिक श्रमिक मानिएको छ। कोषमा योगदान गर्नेहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार तथा वृद्ध अवस्था सुरक्षा पाउनेछन्।

योगदान रकममध्ये १०.३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना तथा १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाका लागि बाँडफाँट हुने कोषले जनाएको छ।

२०७५ मंसिरमा सुरु भएको सामाजिक सुरक्षा योजनामा अहिले ७ लाखभन्दा बढी योगदानकर्ता सूचीकृत छन्। सरकारले गत चैत ८ देखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योजनामा आवद्ध गराइरहेको छ।