काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ। मंगलबार चक्रपथ-बुढानीलकण्ठ सडक अवलोकन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं अभियान चलाउने बताएका हुन्।
काठमाडौंका सडकमा खानेपानी तथा ढल निकास विभाग र नेपाल विद्युत प्राधिकरणका कारण खाल्डाको समस्या बढी देखिएकाले ती निकायसँग छलफल गरेर अभियान थाल्ने मन्त्री ज्वालाले बताए। खानेपानी, प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिएको उनको भनाइ छ। संघ सरकार मातहतका सडक भदौ दोस्रो साताबाट स्तरोन्नति गर्ने तयारी छ।
‘दैनिक लाखौं मानिस हिंड्ने बाटोमा खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौ,’ मन्त्री ज्वालाले भने, ‘खाल्डाखुल्डी पुरेर सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं।’
खानेपानी, प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाका प्रतिनिधि संलग्न एउटा समिति पनि बनेको छ।
समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए। ‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छन्, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ,’ शर्माले भने, ‘अब यो अवस्थाको अन्त्य गर्न छिट्टै बैठक बस्छौं र स्थायी निकास निकाल्छौं।’