BIZMANDU
www.bizmandu.com

ललिता निवास प्रकरणमा आफूले गल्ती नगरेको नेता नेपालको दाबी, भने- छानबिनमा सहयोग गर्छु

२०८० साउन २९

ललिता निवास प्रकरणमा आफूले गल्ती नगरेको नेता नेपालको दाबी, भने- छानबिनमा सहयोग गर्छु
ललिता निवास प्रकरणमा आफूले गल्ती नगरेको नेता नेपालको दाबी, भने- छानबिनमा सहयोग गर्छु


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन्। युरोप भ्रमण गरी सोमबार स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्‍चारकर्मीसामु ललिता निवास जग्गा प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने बताएका हुन्।

Tata
GBIME
NLIC

‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्। त्यसमा मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ,’ अध्यक्ष नेपालले भने।

नेपाल प्रधानमन्त्री भएका बेला ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने निर्णय भएको थियो। उनी २०६६ वैशाखदेखि २१ महिना प्रधानमन्त्री थिए।

पूर्व प्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरे। आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको स्मरण गर्दै उनले भने, ‘मैले नितान्त असल मनसायले अघि बढाएको हो। नबिराउनु नडराउनु भन्‍ने छ, बिराएको छैन, भ्रष्टाचार गरेको छैन। बदमासीमा भएको विषयमा छानबिन होस्।’

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर अख्तियारले मन्त्रिपरिषद्को निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै नेपालमाथि अनुसन्धान नै गरेको थिएन।

केही दिनअघि सर्वोच्च अदालतले यो प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान गर्न बाटो खोलिदिएको थियो। यो प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।